कहिले खुल्लान बन्द ड्राइभिङ्ग ट्रायल सेन्टर?
थानकोट ।
काठमाडौं उपत्यकामा रहेका पाँचवटा ट्रायल सेन्टर १५ दिनयता बन्द छन्।
ती ट्रायल सेन्टर खुलाउने पहल भइरहेको बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। ट्रायल सेन्टर बन्द हुँदा करिब ५ हजार सेवाग्राही मर्कामा परेका छन्।
मन्त्रालयले ट्रायल सेन्टरबारे अध्ययनका लागि गठन गरेको प्राविधिक टोलीले मन्त्रालयलाई शुक्रबार मात्र प्रतिवेदन बुझाएको छ। ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक पूर्वाधार तयार गरे/नगरेको विषयमा यातायात मन्त्रालयले मेकानिकल इन्जिनियर रामसुन्दर कुसीको संयोजकत्वमा एउटा प्राविधिक टोली गठन गरेको थियो। टोलीले मन्त्रालयका सचिव बलराम निरौलालाई प्रतिवेदन बुझाएको हो।
निरौलाले प्राविधिक टोलीले ट्रायल सेन्टरबारे अध्ययन गरेर प्रतिवेदन बुझाएको जानकारी दिए। ‘बन्द ट्रायल सेन्टर अब एक÷दुई दिनमै खोल्ने तयारी भइरहेको छ,’ निरौलाले भने, ‘तोकिएको मापदण्डअनुसार पाँचवटै ट्रायल सेन्टरले भौतिक पूर्वाधार सच्याइसकेको हामीले पाएका छौं।’
उपत्यकाका पाँचवटा ट्रायल सेन्टरहरूले गत जेठ ४ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल) को सेवा बन्द गरेका हुन्।
राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना तथा भक्तपुरको बुढाथोकी ड्राइभिङ सेन्टरले ट्रायल सेवा बन्द गरेका हुन्।
ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। गत जेठ ४ गते उपत्यकाका पाँच सेन्टरबाट करिब दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी भएको थियो। तर प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।
सतर्कताले तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न निर्देशन दिएको छ। केन्द्रले उपत्यकामा सञ्चालित केही ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ। सतर्कताले गत चैतमा एउटा टोली बनाएर उपत्यकाका सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूको विषयमा विस्तृत अध्ययन तथा अनुगमन गरेको थियो, नागरिक दैनिकमा खबर छ ।