नैकाप लगायतका क्षेत्रमा रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न समिति गठन
थानकोट ।
नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिले लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समिति सदस्यहरूमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी रहेका छन् । त्यस्तै प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने पनि उनले जानकारी दिइन् ।