काठमाडौं महानगरलाई गोदावरी मेयर कपको उपाधि, चन्द्रागिरिका साहिल सर्वोत्कृष्ठ डिफेन्डर

थानकोट ।
चन्द्रागिरि नगरपालिकाको चुनाैती २-१ ले पन्छाउँदै काठमाडौं महानगरपालिकाले प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गोदावरी नगरपालिका-१० टाहाखेलस्थित झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पराजित गर्दै काठमाडौं महानगरले उपाधि उचालेको हो ।
काठमाडौंबाट अखिलेश कार्की र दीपेश श्रेष्ठले समान १-१ गोल गरेका थिए भने चन्द्रागिरिका लागि अभिरल रिजालले १ गोल गरे ।
उपाधिसहित काठमाडौं महानगरले ५ लाख रूपैयाँ पुरस्कार पायो । उपविजेता बनेको चन्द्रागिरिले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
फाइनलमा म्यान अफ द म्याच काठमाडौंका अखिलेश कार्की घोषित भए ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
फेयर प्ले ट्रफीसहित महालक्ष्मी नगरपालिकाले ५० हजार पायो ।
सर्वाधिक गोलकर्ता कीर्तिपुरका यमन मर्हजन भए । उनले ६ गोल गरेका थिए ।
इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए ।
उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी चुनिए ।
उत्कृष्ट डिफेन्डर चन्द्रागिरिका साहिल राना चुनिए ।
उत्कृष्ट प्रशिक्षक काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए ।
विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।