नेकपा एमाले चन्द्रागिरि नगरको नेतृत्व लिन ६ जना दाबी (नामसहित)
थानकोट ।
जेठ ५ र ६ गते हुने सत्तारूढ दल नेकपा एमालेको चन्द्रागिरि नगरको दोश्रो अधिवेशनको तयारी तिव्र पारिएको छ ।
सो पार्टीको बैशाख १५ गते बसेको चन्द्रागिरि नगर कमिटीको ११औं पूर्ण बैठकले नगर कमिटीको अधिवेशन जेठ ५ र ६ गते गर्ने निर्णय गरेको थियो ।
चन्द्रागिरि नगरपालिका-५ किसिपिडीस्थित लाछी डबलीमा हुने दुई दिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनका लागि नगरका सबै १५ वटै वडाबाट प्रतिनिधि छनोट भएका छन् ।
१ हजार १ सय ४२ जना संगठित सदस्य रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीमा १५ जनाबाट एक जना प्रतिनिधि रहने गरी ७९ जनाले अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।
नगर कमिटीका ८१ जना, प्रत्येक वडाबाट २-२ जना गरी ३० जना, सल्लाहकार परिषद् बाट ३० जना, अ.ने.म. संघलगायतका शुभेच्छुक संस्थाबाट ६५ जना गरी कुल २ सय ६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।
प्रतिनिधिका लागि एमालेले दलित, समावेशी, खुला र युवाबाट प्रतिनिधी चयन गर्नुपर्ने व्यवस्था गरेको छ ।
नेकपा एमाले चन्द्रागिरि नगरको अध्यक्षमा शनिबार साँझसम्म ६ जनाले दाबी गरेको बताइएको छ ।
जसमा चन्द्रागिरि नगरको जनप्रतिनिधि भइसकेका ई. उत्तम बहादुर राउत, राजेन्द्र केसी र हरिभक्त महर्जनले दाबी पेश गरेका छन् । यसैगरी श्रीराम लामिछाने, गीता पोखरेल र दिपक पनेरुले समेत पार्टीको चन्द्रागिरि नगर अध्यक्ष पदका लागि आफ्नो आकांक्षा राखेका छन् ।
अधिवेशनको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेठ ५ गते शनिबार बिहान १० बजे उद्घाटन गर्ने तालिका रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।