सिम्चा संगालोको विमोचन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित सिम्चा फाँट सानो गणेश मन्दिर समाजले प्रकाशन गरेको कृति सिम्चा संगालो स्मारिका-२०८१ बुधबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
संघीय सांसद् राजेन्द्रकुमार केसी, बागमती प्रदेश मन्त्री रमा आलेमगर, बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, स्थानीय जनप्रतिनिधिहरू, साहित्यकार डा. नवराज लम्साल, समाजसेवी धर्मनन्द श्रेष्ठ, हिमेश केसी लगायतको उपस्थितिमा सो स्मारिका विमोचन गरिएको हो ।
स्थानीय कला संस्कृति, इतिहास, विकास निर्माणका गतिविधि तथा विभिन्न साहित्यिक सृजना सो स्मारिकामा प्रकाशित गरिएको प्रकाशक संस्था सिम्चा फाँट सानो गणेश मन्दिर समाजका अध्यक्ष तोकमान श्रेष्ठले जानकारी दिनुभयो ।
सिम्चा संगालो स्मारिका-२०८१ लोकार्पण कार्यक्रममा संक्षिप्त सम्बोधन गर्नुहुँदै सांसद राजेन्द्र कुमार केसीले पुस्तक लिखित दस्तावेज भएकाले भविष्यका पिडीहरूका लागि स्मारिका राम्रो सन्दर्भ सामाग्री हुने धारणा राख्नुभयो ।
स्थानीय समुदाय मिलेर नै विकास निर्माणका गतिविधिहरू सञ्चालन गरिँदा त्यसको विश्वसनीयता र दीगोपना कायम हुने विचार व्यक्त गर्नुहुँदै सांसद् केसीले वर्तमान अवस्थामा युवाहरूमा बढ्दो विचलन चिर्न अपरिहार्य रहेको धारणा राख्नुभयो ।
बागमती प्रदेश मन्त्री रमा आलेमगरले टाेल सुधार समितिहरूको आवश्यकताहरूका बारेमा चर्चा गर्नुहुँदै समाजमा हुने स-साना घटना एवं विकास निर्माणका कार्यहरूमा सधैं स्थानीय तह, प्रदेश र संघको मुख ताक्न नहुने धारणा राख्नुभयो ।
सिम्चा संगालो स्मारिकाको पहिलो अंकको प्रकाशनले दोश्रो अंक माग गरिसकेको बताउनुहूँदै उहाँले देशका विभिन्न भू-भागबाट सिम्चा क्षेत्रमा बसोबास गर्दै आउनुभएका नागरिकहरूको विकास निर्माणप्रतिको लगाव तथा सामाजिक गतिविधिहरू प्रतिको निरन्तरको योगदान सबैले मनन गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मभूमिमा आफुले सिकेका सीप, अनुभवको उचित प्रयोगका लागि समेत सिम्चाबासीहरूसँग अनुरोध समेत गर्नुभयो ।
नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरिको उन्नतिका लागि विभिन्न दातृ निकायहरूसँग समेत सहयोग लिइरहेको जानकारी गराउनुभयो । मेयर गिरीले राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका हुन नसक्दा नगरपालिका क्षेत्रमा अरबाैंका स्वदेशी तथा विदेशी सहयोगका आयोजना त्यतिकै थन्किएर बसेको बताउनुहुँदै कीर्तिपुर र काठमााडाैं महानगरका सीमामा रहेका चन्द्रागिरि वडा नंं ९, १२, १४ र १५ मा मेलम्चीको पानी वितरणको सम्भाव्यता सकरात्मक देखिएको जानकारी दिनुभयो ।
पुस्तक लोकार्पण समारोहमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, साहित्यकार डा. नवराज लम्साल, समाजसेवी धर्मनन्द श्रेष्ठ, हिमेश केसी लगायतले समेत संक्षिप्त धारणा राख्नुभएको थियो ।