६ अर्ब लगानीमा चन्द्रागिरिमा निर्माण हुँदैछ चम्पादेवी केबलकार
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा अर्को सेवा थपिने भएको छ।
पुतलीसडकस्थित चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिको लगानीमा दक्षिणकालीबाट चन्द्रागिरि जोड्ने गरी चम्पादेवी केबलकार निर्माण हुने भएको हो।
चन्द्रागिरि नगरमा अर्को पनि केबलकार बन्ने, वातावरणीय प्रभाव मूल्यांकनका लागि सात दिने सूचना
६ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त केबलकारको अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भइरहेको छ। ईआईएको काम सकिएलगत्तै निर्माणको काम अगाडि बढ्ने सञ्चालक कमलेशकुमार अग्रवालले जानकारी दिए।
केबलकारमा अग्रवाल सहितको टिमले लगानी गरिरहेका छन्।
कम्पनीले २०८० चैत २२ गते सूचना प्रकाशन गरी आयोजनाको वातावरणीय मूल्यांकन प्रतिवेदनका लागि आह्वान गरेको छ। दक्षिणकाली नगरपालिका वडा नम्बर १ बोसन गाउँमा तल्लो स्टेसन र चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मा माथिल्लो स्टेसन रहने गरी केबलकार निर्माणको आयोजना प्रस्ताव गरेको छ।
दक्षिणकाली नगरपालिका १ र चन्द्रागिरी ९ मा माथिल्लो स्टेसन रहने गरी सो बीचमा करिब २०७५.७५ मिटर लम्बाइको केबलकार रहनेछ। केबलकार निर्माण हुँदा दक्षिणकाली नगरपालिकाको १, ५ र ९ वडासहित चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ र कीर्तिपुरको वडा नम्बर ५ प्रभावित हुनसक्नेछ।
लामो समयदेखि केबलकार निर्माण गर्ने भनिए पनि विभिन्न कारणले रोकिँदै आएको छ। अब भने ईआईएको काम अन्तिम चरणमा रहेकोले द्रुत गतिमा काम अगाडि बढ्ने सञ्चालक अग्रवालको भनाइ छ।
पहिलो चरणमा केबलकार सञ्चालन गरेपछि सुविधा सम्पन्न रिसोर्टसहित विभिन्न पर्यटकीय गतिविधिसमेत सञ्चालन गर्ने लक्ष्य कम्पनीले राखेको उनले बताए।
काठमाडौंबाट नजिकको गन्तव्यको रुपमा रहेको दक्षिणकालीबाट चन्द्रागिरिसम्म केबलकार निर्माण गरी सञ्चालनमा आए आन्तरिक एवंम बाह्य पर्यटकहरु थप आकर्षित हुने बताइएको छ।
यो केबलकार युरोपियन प्रविधिमार्फत निर्माण एवं सञ्चालन हुनेछ।