स्थानीय तहकाे झल्को दिने नयाँ नैकाप खानेपानीकाे चुनाव, दलीय र स्वतन्त्र प्यानलबीच प्रतिस्पर्धा

थानकोट ।
चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित नयाँ नैकाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रतिनिधि चयनका लागि अहिले मतदान भइरहेको छ।
नैकापस्थित गाेल्डस्टार पार्टी प्यालेसमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य अपरान्ह ४ बजेसम्म जारी रहने निर्वाचन अधिकृत ईश्वरप्रसाद सुवेदीले जानकारी दिनुभयाे ।
प्रारम्भिक चरणमा ९ पदका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । ३ जना महिला सहित ६ पदमा राजनीतिक दलीय गठबन्धन र स्वतन्त्र गठबन्धन गरि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
२०६० धारा जडान भएकाे साे खानेपानी उपभोक्ता समितिमा साेही संख्यामा मतदाता रहेकाे बताइएको छ।
संस्थाको विधानमा उपभोक्ताहरुबाट प्रत्यक्ष निर्वाचित ९ जना सदस्यहरु मध्येबाट पदाधिकारी चयन हुने व्यवस्था छ ।
दलीय गठबन्धनको नेतृत्व रामहरि बस्नेतले गरेका छन भने स्वतन्त्र प्यानलकाे नेतृत्व कृष्ण महर्जनले गरेका छन् । बस्नेत हालका अध्यक्ष हुन भने महर्जन सचिव छन् ।
राजनीतिक दलीय गठबन्धनमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा प्यानल बनाएका छन् भने अर्कोतिर स्वतन्त्र रूपमा प्यानल बनाइएको छ ।
निर्वाचन कार्यक्रमस्थलमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । निर्वाचनकाे परिणाम आज नै आउने बताइएको छ।