जेसिस स्कुलमा चन्द्रागिरि नगरका पुराना तस्बिर प्रदर्शनीः काजिलालले आफु भेटे, हरिशरणले बा
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिर तथा चित्रहरूको एक दिने प्रदर्शनी मंगलबार सम्पन्न भएको छ।
सतुगंलस्थित जेसिस स्कुलमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका क्षेत्रका १५० वटा भन्दा बढि तस्बिर तथा चित्रहरू प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।
प्रदर्शनीमा विद्यालयका विद्यार्थीहरू, अभिभावकहरू, नगरका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, बागमती प्रदेश सभा सदस्य सांसद् रमा आलेमगर, चन्द्रागिरि नगरका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू लगायत समेतको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिर तथा चित्रहरूको प्रदर्शनी अवलोनकपछि राष्ट्रिय संग्राहलय छाउनीका निर्देशक जयराम श्रेष्ठले नेपालको इतिहास अध्ययनमा यस खालका प्रदर्शनी निरन्तर हुनुपर्ने धारणा राख्नुहुँदै स्कुले विद्यार्थीहरूका लागि पुराना तस्बिरहरुको प्रदर्शनीको विशेष महत्व रहेको प्रतिक्रिया दिनुभयो । कार्यक्रम अवलोकनपछि बागमती प्रदेश सभा सदस्य सांसद् रमा आलेमगरले पहिले र अहिलेको चन्द्रागिरि नगरको विविध आयामहरूको अध्ययनका लागि यसखालका प्रदर्शनीले नीति निर्माणका लागि समेत सहायता पुर्याउन सक्ने विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरी चन्द्रागिरि नगरपालिका वडा नंं १० का वडाध्यक्ष शिवकुमार महर्जनले यस किसिमका प्रदर्शनीले इतिहास, पुरातातविक वस्तु एवं स्थलहरूको संरक्षण, प्रवर्द्धन गर्न सबैमा जनचेतना वृद्धि हुनुपर्ने विचार राख्नुहुँदै विद्यालयस्तर देखिनै स्थानीय इतिहासका विषयमा अध्ययन अध्यापन हुनुपर्नेमा जोड दिनुभयो
फोटो प्रदर्शनी अवलोकन पछि सुस्मिता अधिकारीले यस खालका प्रदर्शनीले विद्यार्थीको सोच्न सक्ने क्षमता विकास हुने प्रतिक्रिया दिनुभयो ।
नेपाल फोटो फाउण्डेशन, फोटो म्युजियम नेपाल लगायतका संस्थाहरूको समन्वयमा जेसिस स्कुलमा चन्द्रागिरि नगरमै पहिलोपटक विद्यालयस्तरमा फोटो प्रदर्शनी आयोजना भएको हो ।
काजिलालले आफु भेटे, हरिशरणले बा
मंगलबार सतुगंलस्थित जेसिस स्कुलमा प्रदर्शन गरिएको चन्द्रागिरि नगरका पुराना तस्बिरहरुको सूचीमा क्यानेडियन नागरिक लियो गाैलेटले वि.सं. २०३१ सालमा मातातिर्थबाट चखेल देउराली हुँदै मकवानपुर पुगेको तस्बिर समेत समावेश भएको थियो । जहाँ २ जना पुरुषहरू दाउराको भारी बिसाएर आराम गरिरहेको देख्न सकिन्थ्यो । फोटो प्रदर्शनी हेर्न पुगेका सतुगंलका ईञ्जिनियर बालकृष्ण श्रेष्ठले तस्बिरको दायाँतिर सतुगंल गाउँका रामकृष्ण श्रेष्ठ थिए भने बायँ तिर काजिलाल महर्जन भएको अनुमान गर्नुभयो । सो पछि उहाँले रामकृष्रण श्रेष्ठका छोरा हरिशरण श्रेष्ठलाई बोलाउनुभयो । श्रेष्ठले दिवगंत भइसकेका बाबुको पुरानो फोटो भएको पहिचान गर्नुभयो । श्रेष्ठको २०७२ सालमा ७६ वर्षको उमेरमा निधन भइसकेको छ । उहाँ तत्कालीन अवस्थामा सतुगंलमा हुने परम्परागत भोजहरूमा भान्छाको नाइके (भ लि) हुनुभएको फोटो प्रदर्शनीमा अवलोकन गर्नेहरूको भनाइ थियो ।
सोही फोटोमा बायाँ कुनामा अर्का व्यक्ति बसेर सुर्ति पिइरहेका थिए । उनै ईञ्जिनियर बालकृष्ण श्रेष्ठले सो फोटो स्थानीय काजिलाल महर्जनको हुन सक्ने बताउनुभयो । लगत्तै उहाँले महर्जनलाई सम्पर्क गरि कार्यक्रमस्थलमा बोलाउनुभयो ।
कोहीसँग स्कुटरमा बसेर फोटो प्रदर्शनीस्थल पुग्नुभएका काजिलालले आफु ३० वर्षको हुँदा चखेल देउराली क्षेत्रमा दाउरा खोज्न जाने गरेको सुनाउनुहुँदै सो तस्बिरमा भएको व्यक्ति आफु नै भएको बताउनुभयो । उहाँका अनुसार सतुगंलबाट चखेल देउराली पुग्न १ घण्टा लाग्दथ्यो । सो स्थानबाट अर्को १ घण्टाको दुरीसम्म आफुहरू समुहमा नै दाउरा खोज्न जाने गरेको काजिलालले अनुभव सुनाउनुभयो । उहाँका अनुसार भान्छा प्रयोग गर्नका लागि दाउरा खोज्न सतुगंलका पुरुषहरू सो क्षेत्रमा पुग्ने गरेको र महिलाहरू भने घाँस दाउराका लागि सो क्षेत्रमा जाने अनुभव स्मरण गर्नुभयो । करिब ३५ वर्षसम्म आफुले दाउरा बोकेको अनुभव सुनाउनुहुँदै उहाँले सो पछि भने भान्छामा मट्टितेलको प्रयोग हुन थालेपछि दाउरा खोज्न जाने चलन अन्त्य भएको बताउनुभयो । अहिले सतुगंलमा परम्परागत बाजाको प्रशिक्षण दिँदै आउनुभएका महर्जनले एकपटकमा ५० केजी सम्म दाउरा बोकेर ल्याउने गरेको अनुभव बताउनुभयो ।