धादिङको गजुरीमा यात्रु बस दुर्घटना: सतुगंलका एक पुरुषसहित ३९ जना यात्रु घाइते, उद्धार कार्य जारी
थानकोट ।
बुधबार बिहान करिब ४ः४० बजे रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु. २ ख. २१२१ नम्बरको यात्रु बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ घाटबेंशीमा सडकबाट त्रिशुली नदीमा खस्दा ३९ जना घाइते भएका छन् ।
सो दुर्घटनामा परि ७ जनाको ज्यान गएको पुष्टी भइसकेको छ यद्यपी मृतकको अहिलेसम्म सनाखद हुन नसकेको प्रहरीले जनाएको छ ।
बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेहरूको नामावली प्रकाशन गरेको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका १० सतुगंलका ५१ वर्षीय धुर्व महर्जन पनि घाइते भएका छन् ।
घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
दुर्घटनाग्रस्त यात्रु बसको ८० प्रतिशत भाग नदीमा डुबेको र नदीमा अझै बेपत्ता हुनसक्ने अनुमान गरिएको छ।
नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली लगायत स्थानीयहरू पनि उद्धारमा जुटिरहेका छन् ।