नागढुंगा नाकामा लापसे जाँच, पर्यटक बस चालकसहित तीन जना चालक पक्राउ
थानकोट ।
ट्राफिक प्रहरीले नागढुङ्गा नाकाबाट तीन जना चालक नियन्त्रणमा लिएको छ ।
नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा बा १ प ७६४ नम्बरका पर्यटक माइक्रो चालक ललितपुरको ललितपुर महानगरपालिका १४ का ३२ वर्षीय वासुदेव खड्का, बा ७ ख ९७ २१ नम्बरका ट्रक चालक पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका ८ का २८ वर्षीय अमृत उप्रेती र ना ८ ख १६ ४६ नम्बरका ट्रक चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ का २७ वर्षीय पंकज चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट ल्याइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।