थानकोटमा परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल बनाउन करिब १ अर्ब बजेट सुनिश्चित

Thankot Times

थानकोट ।

जर्मन विकास बैंक (केएफडब्लु)को सहायतामा चन्द्रागिरि नगरपालिका- ०४ थानकोट गोदाम चाैरनजिक निर्माण हुन लागेको प्रसूति तथा स्त्री रोग अस्पतालको निर्माण कार्यले गति लिने भएको छ ।

अत्याधुनिक प्रविधियुक्त सो अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत जर्मन विकास बैंक (केएफडब्लु)ले एक अर्ब रूपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ जसका लागि सोमबार बजेट सुनिश्चित भएको बताइएको छ । 

नगरप्रमुख घनश्याम गिरीले सोमबार सामाजिक सञ्जालमार्फत सो जानकारी गराउनु भएको हो ।

आज केएफडब्लु, नेपाल सरकार र परोपकार प्रसुति अस्पतालबीच करिब एक अर्बको बजेट सुनिश्चिततासहित अस्पताल निर्माण कार्य तत्काल सुरु गर्ने गरि सम्झौता भयो मेयर गिरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

अस्पताल निर्माणपश्चात काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दाका साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुग्ने अपेक्षा गरिएको छ ।

जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लागत साझेदारीमा चन्द्रागिरि नगरपलिका वडा नं ४ थानकोट गोदामस्थित हालको थानकोट प्राथमिक अस्पतालसँगै निर्माण हुने अत्याधुनिक सुविधा सम्पन्न परोपकार मातृत्व तथा महिला स्वास्थ्य अस्पताल निर्माण गर्नको लागि २०७८ साल भाद्र ३१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चन्द्रागिरि नगरपालिका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झाैता ज्ञापन पत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ ।

परोपकार प्रसुति अस्पताल निर्माणस्थल नजिकै नेपाल सरकार र चन्द्रागिरि नगरपालिकाको करिब बीस करोड रुपैयाँ लागतमा नगर अस्पताल निर्माण कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ