चन्द्रागिरि नगरमा आजदेखि दादुरा-रुबेला खोप अभियान, ९१ स्थानमा खोप सञ्चालन केन्द्र

Thankot Times

थानकोट ।

संघीय सरकारको निर्धारित कार्यक्रम ‘खोप अभियान’ अनुसार बागमती प्रदेशका ११९ वटै स्थानीय तहहरूमा आजदेखि १२ लाख ३० हजार ६२२ जनालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार अनुसार ९ महिनादेखि १५ वर्षसम्मकालाई खोप लगाउने कार्यक्रम रहेको ४ वटा जिल्लामा विद्यालय तथा नियमित केन्द्रमा खोप सेवा दिइने र अन्य जिल्लामा नियमित खोप केन्द्र र थप गरिएका केन्द्रबाट खोप लगाइने छ ।

दादुरा–रुबेला रोगहरुबाट संक्रमण हुनसक्ने सम्भावनाहरुलाई न्युनीकरण गर्ने लक्ष्यका साथ संघीय सरकारको निर्देशनअनुसार प्रदेश र स्थानीय तहहरु एकजुट भएर एकहप्ते खोप अभियानमा सञ्चालनमा अग्रसर भएका हुन् ।

बागमती प्रदेशमा खो अभियान सञ्चालनका लागि ५ हजार बढी खोप केन्द्रहरु निर्धारण गरिएको छ । निर्देशनालयका अनुसार प्रदेशका ११९ स्थानीय तहमा ५ हजार ७८८ वटा अभियान सञ्चालनका लागि खोप केन्द्रहरु निर्धारण गरिएको छ ।

नेपाल जनस्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार नेपालमा राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप लगाएका बालबालिका ५२ प्रतिशत मात्र छन् । बागमती प्रदेशमा पूर्ण खोप लगाएका बालबालिका ८३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

दादुरा–रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, निमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने हुन्छ । 

चन्द्रागिरि नगरमा ९१ खोप केन्द्र

चन्द्रागिरि नगरपालिकामा आजदेखि सुरु हुने दादुरा-रुबेला खोप अभियानको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । 

९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूका लागि लक्षित गरि सञ्चालन हुने सो खोप अभियान नगरका सबै १५ वटै वडामा सञ्चालन हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनालले जानकारी दिए ।

ती खोप केन्द्र स्वास्थ्य चाैकी, शहरी स्वास्थ्य केन्द्र, विभिन्न सरकारी तथा संस्थागत विद्यालयमा सञ्चालन हुनेछन् । 

अभियान अन्तर्गत आज चन्द्रागरि नगरपालिका वडा नं. २ बाडभञ्ज्याङस्थित भीम मावि, चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटस्थित मंगलोदय मावि, चन्द्रागिरि नगरपालिका वडा नं. ४ गोदामस्थित चुनदेवी मावि, चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित रिब्स मावि, चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थस्थित महालक्ष्मी आधारभूत विद्यालय, चन्द्रागिरि नगरपालिका वडा नं. ७ चेकपोष्टस्थित प्रभात माविमा खोप सञ्चालन हुनेछ । 

यसैगरी आज नै चन्द्रागरि नगरपालिका वडा नं. ८ मातातीर्थस्थित जनविकास मावि, चन्द्रागरि नगरपालिका वडा नं. ९ मच्छेगाउँस्थि चुनदेवी आधारभूत विद्यालय, चन्द्रागरि नगरपालिका वडा नं. १० सतुगंलस्थित हाइ न्यू भीजन एकेडेमी तगतभैरव आधारभूत विद्यालयमा समेत खोप कार्यक्रम सञ्चालन हुने तालिका रहेको छ । 

चन्द्रागरि नगरपालिका वडा नं. ११ सतुंगलस्थित एआइ स्कुल, चन्द्रागरि नगरपालिका वडा नं. १२ बलम्बुस्थित बलम्बु मावि, चन्द्रागरि नगरपालिका वडा नं. १३ पुरानो नैकापस्थित कंकाली मावि, चन्द्रागरि नगरपालिका वडा नं. १४ नयाँ नैकापस्थित मदरल्याण्ड मावि, र चन्द्रागरि नगरपालिका वडा नं. १५ तीनथानास्थित विष्णुदेवी माविमा दादुरा-रुवेला खोप अभियान सञ्चालन गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

खोप कार्यक्रम बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म जारी रहने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *