काठमाडौं शिक्षा क्याम्पसले साटासाट गर्यो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को खुसी
थानकोट ।
विश्व विद्यालय अनुदान आयोगले प्रदान गरेको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्त भएको अवसरमा शनिबार चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाण-पत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ। विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षासम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्च शिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ।
देशभरका कलेजमध्ये आयोगको मूल्याङ्कन समितिले गत साता काठमाडाैं शिक्षा क्याम्पसलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।
विश्व विद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजमध्ये ६५ वटा भन्दा बढि कलेजलाई क्यूएए प्रमाणीकरण गरेको छ ।
काठमाडाैं शिक्षा क्याम्पसले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, बागमती प्रदेश सभा सदस्यत्रय रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा आ-आफ्नो धारणा राख्दै वक्ताहरूले काठमााडैं शिक्षा क्याम्पसले पाएको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) निश्चित अवधिका लागि मात्रै भएकोले सो कायम राख्नु अपरिहार्य रहेको मा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना दिँदै वक्ताहरूले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) प्राप्ति काठमाडाैं शिक्षा क्याम्पसका लाग चुनाैती र अवसर दुवै रहेको धारणा राखेका थिए ।
कार्यक्रमअघि शनिबार बिहान क्याम्पसले प्रभात फेरि निकालेको थियो । बाजागाजासहित सयाैंको संख्यामा रहेका क्याम्पसका विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूले सो क्रममा नगरका विभिन्न स्थान परिक्रमा गरेका थिए ।
काठमाडाैं शिक्षा क्याम्पसले प्राप्त गरेको क्यूएए प्रमाणपत्र पाँच वर्षका लागि हो। त्यसपछि आयोगले पुन: नवीकरण गर्नुपर्छ। कलेजका तर्फबाट वर्षेनी एकेडेमिक अडिट पेश गर्नुपर्ने नियम पनि छ।