चन्द्रागिरि-८ मातातिर्थ ल्होंखामा आज मध्यान्ह १२ बजेसम्म ऐतिहासिक १२ वर्षे शिकाली नाच देखाइने

थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थ ल्होंखामा सोमबारबाट प्रदर्शन भइरहेको खोकनाको ऐतिहासिक रुद्रायणी (कालि देवी) देवीको १२ वर्षे दबु नाच आज मध्यान्हसम्म जारी रहने भएको छ ।
आइतबार खोकनाबाट पैदल हिंडेको देवगणसहितकाे टाेली अबेर राति मातातिर्थ आइपुगेको थियो । टोलीले हिजो सोमबार दिनभर विभिन्न नाच देखाएको थियो ।
नाच हेर्न ल्होंखामा हजाराैं स्थानीयहरूको उपस्थिति रहेको थियो ।
नाच हेर्न चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत अन्य वडाका वडाध्यक्षहरूसहितका जनप्रतिनिधिहरू ल्होंखा पुगेका थिए ।
नाच व्यवस्थापनमा श्री रुद्रायणी (श्री काली) दबु नाच समितिका स्वसंसेवकहरूका अतिरिक्त चन्द्रागिरि नगरका कर्मचारीहरू तथा नगरप्रहरीहरू खटिएका छन् ।
कसरी सुरु भयो यो नाच देखाउने परम्पराः काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित पुरानो नेवाः बस्ती खोकनामा मनाइने रुद्रायणी देवीको जात्रा (सिकाली नाच) हरेक १२ वर्षमा खोकना बाहिर पुग्ने गरेको छ । पन्ध्रौँ शताब्दीमा तत्कालीन राजा अमर मल्लले रुद्रायणी देवीको मन्दिरको स्थापना गर्न लगाउनुभएको किंवदन्ती रहेको छ । वर्षको दुईपटक सिकाली देवीको जात्रा गर्ने परम्परा रहेको छ । उक्त जात्रामा ४६ देवगणको पूजाआजा गर्ने तथा जाभु (भ्वज) खुवाउने परम्परा पनि निरन्तर चलिआएको बताइएको छ ।
प्रत्येक १२ वर्षमा मात्र बाहिर आउने देवगणहरूले जात्राका क्रममा १४ देवीदेवता रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रह्मा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्तिकुमार) को नाच देखाइन्छ । यसमा नाच्ने मुख्य ४६ जना देवगणमध्ये १४ देवदेवीको भूमिकामा रहन्छन् ।
सृष्टि, स्थिति र संहारका मूलकारिणी रुद्रायणीदेवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्यभाव देवी र दानवबीचको युद्धलाई दर्शाउनुरहेको चन्द्रागिरि –८ का भुयू महर्जनले जानकारी दिएका छ । उनका अनुसार नृत्यगणमा रुद्रायणी, महादेव, गणेश, कौमारी, इन्द्रायणी, महालक्ष्मी, हनुमान, सनतकुमार, सिंहिनी, ब्याघ्रिनी, ध्वंद्यः (स्याल देवता), खिचा द्यः (कुकुर देवता), महिषासुर दैत्य र यक्ष टोली बाजासहित सरिक हुन्छन् । नृत्य टोलीमा भाग लिने सबै पात्रले मुजा परेको सेतो जामा, भोटो, पटुका, पगडी र थ्यागा (पट्याएको पछ्यौरा) लगाएका हुन्छन् । यो नाच मातातिर्थमा पछिल्लो पटक २०६८ सालमा देखाइएको थियो ।
ऐतिहासिक नाच देखाउन खोकनाबाट ल्होंखा आएको देवगणहरूको सम्मानमा दिउँसो भोज खुवाउने कार्यक्रम रहेको र आज नै बिदाइ गरिने श्री रुद्रायणी (श्री काली) दबु नाच समितिका अध्यक्ष धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
तस्बिरः देसुम महर्जन