४ दशकअघि तीनथानाबाट हराएको सरस्वतीको मुर्ति न्यूयोर्कमा, चन्द्रागिरि नगर भने अझै बेखबर !
थानकोट ।
आज श्रीपञ्चमी पर्व देशभरका सरस्वती मन्दिरहरूमा पूजा अर्चना गरि मनाइँदैछ । चन्द्रागिरि नगरका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको चहलपहल बिहानैबाट सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सरस्वती मन्दिरमा बुधबार बिहान श्रद्धालुहरूको लामो लाम लागेको थियो ।
वि.संं २०३७ ताका सो मन्दिरमा रहेको ७औँ वा ८औँ शताब्दीमा स्थापना भएको मानिएको सरस्वतीको मूर्ति हराएपछि स्थानीयहरूको पहलमा सरस्वतीको नयाँ मुर्ति प्रतिस्थापन गरियो।
अहिले श्रद्धालुहरूले सोही मुर्ति पूजा गर्दै आएका छन् ।
उसबेला सो मुर्ति चोरी भएको अनुमान गरिएपनि खास कारण पत्ता लाग्न सकेको छैन् । यद्यपी सो मुर्तिको खुट्टाका अवशेष भने अझै सोही मन्दिरमै देख्न सकिन्छ ।
अमेरिकामा भेटियो मुर्ति
गतवर्ष टाउको विहिन रहेको अवस्थामा वि.संं २०३७ साल ताका तीनथानाबाट हराएको सरस्वतीको मुर्ति अमेरिकामा फेला परेको खबरहरू प्रकाशित भए ।
तीनथाना विष्णुदेवी परिसरबाट हराएको ८औँ शताब्दीतिरको सरस्वतीको मूर्ति अमेरिकामा !
नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्टस अफ नेपाल अभियानले सो मुर्ति अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको नीजि संग्रहमा रहेको जनाएको छ ।
तीनथाना विष्णुदेवी क्षेत्रको सो सरस्वती मूर्तिका संकलक एल्सबर्थको करिब १ दशक अघि नै मृत्यु भइसकेको छ उनले कहाँबाट कसरी सो अमुर्त सम्पदा हात पारे भन्ने उल्लेख भएको छैन् ।
मुर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ जसको खुट्टाको टुक्रा अझैपनि विष्णुदेवी मन्दिर क्षेत्रमा देख्न सकिन्छ । हाल अमेरिकामा फेला परेको मुर्तिको उचाइ ९१.५ सेन्टीमिटर रहेको छ ।
स्थानीय अगुवा देवेन्द्रराज थापाले मुर्तिको शीर र शरिरको अन्य भाग फरक फरक शिलाको भएको हुँदा मुर्ति पहिलेबाट नै दुई टुक्रा देख्ने गरेको थानकोट टाइम्सलाई बताउनुभयो ।
वास्तुविद् कार्ल प्रुस्चद्वारा वि.संं २०३२ साल ताका खिचिएको सो मुर्तिको तस्बिर “काठमाडौं उपत्यका, खण्ड २” र उल्रिच भोन श्रोडरको “नेपाली स्टोन स्कल्प्चर्स, खण्ड १- हिन्दू, प्लेट नम्बर २ ई ४” मा प्रकाशित भएको थियो।
यस प्रस्तर मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चले सन् १९७५ र नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा लिएका थिए । स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ (प्लेट २२४)’ मा पनि तीनथाना/नैकापको यो मूर्ति तस्बिर तथा विवरण उल्लेखित छ ।
अमेरिकामा फेला परेको सो मुर्तिको फोटो २१ वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा “डेभिन प्रेजेन्स: आर्ट्स अफ इन्डिया र हिमालयज” शीर्षकमा समावेश भएको पनि सो अभियानले जनाएको छ ।
नगर क्षेत्रबाट करिब ४ दशक अघि हराएको अलाैकिक सम्पदा विदेशमा फेला परेको पुष्टि हुँदासमेत स्वदेश फिर्ता एवं पुनर्स्थापना गर्न चन्द्रागिरि नगरपालिकाले भने चासो देखाएको छैन् ।