आज सरस्वती पूजा; विद्या र सिर्जनाकी देवीको आराधना गर्ने दिन, विष्णुदेवीमा श्रद्धालुहरूको भीड
थानकोट ।
आज माघ शुक्ल पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरि साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
चन्द्रागिरि नगरका विभिन्न मन्दिरहरू लगायत उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।
आजका दिन अक्षराम्भ गर्ने प्रचलन पनि रहेको छ ।
श्रीपञ्चमीका अवसरमा चन्द्रागिरि नगरपालिका-१५ विष्णुदेवीस्थित सरस्वती मन्दिरमा बिहानैदेखि सरस्वती पूजा र अक्षराम्भ गर्नेको घुइँचो लागेको छ ।