सान इन्टरनेशनल कलेजले नैकापस्थित आफ्नै भवनमा मनायो २४औं स्थापना दिवस
थानकोट।
यसअघि नक्सालस्थित गैह्रीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा नवनिर्मित आफ्नै भवनमा स्थापनाको २४औं दिवस मनाएको छ ।
आइतबार प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा कलेजले स्थापना दिवस मनाएको हो ।
सान कलेजको २४औं दिवस समारोहलाई सम्बोधन गर्नहुँदै उपसभामुख रानामगरले समयको सही सदुपयोग गर्नु आजको आवश्यकता रहेको बताउनुहुँदै समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरू गुमिरहेकोले सबैले समयको ख्याल राख्नुपर्ने धारणा राख्नुभयो ।
राजनीतिमा युवाहरूले समेत चासो दिनुपर्ने बताउनुहुँदै उपसभामुख रानामगरले विदेशीहरूले नेपाल र नेपालका विविध विषयमा चासो दिइ कुनाकुनामा पुगि अध्ययन गरिरहेको अवस्थामा नेपालीहरू आफैंले आफ्नो मुलुकका सभ्यता, संस्कृति, पर्यापर्यटनका विषयमा चासो दिन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो ।
राष्ट्र र राष्ट्रियताका सन्दर्भमा घरबाट नै नैतिक शिक्षा लिनु आजको आवश्यकता रहेको बताउनुहुँदै उहाँले शैक्षिक संस्थाहरूले जलवायु परिवर्तन, अव्यवस्थित शहरीकरणका सन्दर्भमा समेत विशेष जोड दिएर शिक्षा दिनु अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कलेजका अध्यक्ष डा. सुवास घिमिरेले शिक्षा र स्वास्थ्य दुवै मानिसका लागि परिपुरकको रुपमा रहेको बताउनुहुँदै संस्थागत र सरकारी शिक्षा क्षेत्रबीच हातेमालो हुन आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रबाट पनि राष्ट्रलाई योगदान दिन सकियोस भनि सान कलेजको स्थापना गरिएको धारणा राख्नुहुँदै अध्यक्ष डा. घिमिरेले छिमेकी बलवान नभएसम्म अर्को छिमेकी बलवान हुन नसक्ने बताउनुहुँदै सहकार्य र साथ विना कुनैपनि व्यक्ति र समाज सफल हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरू केशव पोखरेल, रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, काठमाडाैं महानगरका उपमेयर सुनिता डंगोल, स्थानीय जनप्रतिनिधिहरू, ख्यातिप्राप्त कलाकार दिपकराज गिरी, शिवहरी पाैडेल लगायत स्थानीय विद्यालयका प्रधानाध्यापकहरू एवं प्रतिनिधिहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।