सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलमा ब्राइट होराइजन मातातीर्थका जोतिषले गरे ४ गोल
थानकोट ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तर्गत दिनको पहिलो खेलमा राई स्कूल, नक्सालले हारती शिक्षा मन्दिर सितापाईलाको चुनाैती १-० ले पन्छाउँदै महत्वपूर्ण ३ अंक जोड्यो । राई स्कूलका लागि सोहन श्रेष्ठले १ गोल गरेका थिए । राई स्कूलका आर्यनजंग थापा खेलको म्यान अफ दि म्याच चुनिए ।
यसैगरी दिनको दोश्रो खेलमा चन्द्रागिरि नगरपालिका-८ मातातीर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होमले नेपालय हाईयर सेकेण्डरी स्कूल, कलंकीलाई ८-० को हार चखायो ।
ब्राईट होराईजनका लागि जोतिष बहादुर शाहीले ४ गोल गर्दा चक्र मन्यालले २ गरे भने विनोद गुरुङ र प्रभाष शाहीको नाउँमा समान १-१ गोल रह्यो । चक्र मन्याल खेलको उत्कृष्ठ खेलाडी चुनिए ।
दिनको तेस्रो तथा अन्तिम खेलमा नेपाल एपीएफ स्कूल, कीर्तिपुरको क टिमले मोर्डन ईन्डियन स्कूल, चोभारमाथि ३-० गोलको सहज जित दर्ता गर्यो । एपीएफका लागि तेन्जिङ्ग शेर्पाले २ तथा रोहित गोलेले १ गोल गरेका थिए । शेर्पा खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलि शनिबार सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारीले ग्रिन भिलेज सेकेण्डरी स्कूल कीर्तिपुरको सामना गर्दा दोश्रो खेलमा पुष्पसदन स्कूलले लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरसँग खेल्ने तालिका रहेको छ ।
शनिबार नै राई स्कूल नक्साल र नेपालय पब्लिक ईङ्गलिस स्कूल, जोरपाटीबीच खेल हुने तालिका रहेको छ ।
प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।
५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।