बागमती प्रदेशका दुर्गम क्षेत्रमा चिकित्सक पुर्‍याउन प्रोत्साहन भत्ता

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले दुर्गम तथा विकट क्षेत्रमा स्वास्थ्य उपचार सेवा पुर्‍याउन चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको गत पुस २२ गते बसेको मन्त्रिपरिषद्ले दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त कार्यक्रम संचालनको लागि स्वास्थ्य मन्त्रालयले निर्माण गरेको कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । २२ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको दुर्गम क्षत्रे विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको हो ।

प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको रातोपाटीमा खबर छ ।

प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न र स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन उक्त निर्णयले महत्त्वपूर्ण साबित हुने मन्त्रालयको विश्वास रहेको छ । मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार स्वास्थ्यकर्मीलाई प्रोत्साहन उपलब्ध गराउने निर्णयले प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन भूमिका खेल्नेछ ।

विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सहित गाउँमा पठाएर सेवा प्रवाहलाई स्तरीय बनाउनु सो निर्णयको उद्धेश्य रहेको उनले बताए । उनका अनुसार सो कार्यक्रम प्रदेशको काठमाडौँ उपत्यकाका बाहेकका १० जिल्लामा सञ्चालन गरिने छ । हालका लागि काठमाडौँ उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सो कार्यक्रम लागु नहुने उनको भनाई छ । दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएका प्रदेशका अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधा बापत भत्ता प्रदान गरिने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सो कार्यक्रम कार्यान्वयन गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *