‘इभी’का लागि नागढुंगा र थानकोटमा चार्जिङ स्टेशन बनाउँदै चन्द्रागिरि नगरपालिका
थानकोट ।
पछिल्लो समय लोकप्रिय बन्दै आएको विद्युतीय सवारी साधन ‘इभी’ चार्ज गर्नका लागि चन्द्रागिरि नगरमा चार्जिङ स्टेशन बन्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका थानकोट र नागढुंगामा विद्युतीय सवारी साधन चार्जिङका लागि स्टेशनको निर्माण गर्न साझा यातायातले चासो देखाएको बताइएको छ।
सो का लागि साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा ती स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न प्रारम्भिक सर्वेक्षण गर्ने कार्य सकिएको नगरप्रमुख घनश्याम गिरीको सचिवालयले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले समेत चन्द्रागिरिका यी २ स्थानमा विद्युतीय सवारी साधन चार्जिङका लागि समन्वय गर्न सहमति जनाएको बताइएको छ।
बुधबार नगर प्रमुख घनश्याम गिरी, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र महाप्रबन्धक महेन्द्र राज पाण्डेयको टोलीले चन्द्रागिरि नगरमा चार्जिङ स्टेशन बन्ने स्थानको अवलोकन गरेका छन् ।
सो क्रममा नगर प्रमुख गिरीले लामो तथा छोटो दुरीमा गुड्ने सार्वजनिक यातायात तथा निजी सवारी साधनले सो चार्जिङ स्टेशनबाट सेवा लिन सक्ने कुरा जानकारी दिए । साझा यातायातका अध्यक्ष दीक्षितले नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशनका लागि चाहिने ट्रान्सर्फमर जडान हुने बित्तिकै स्टेशन निर्माणको कार्यले गति लिने प्रतिक्रिया दिए ।