एनटीएनसीले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा, ब्राइट फ्युचर माविलाई पनि सम्मान
थानकोट ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको छ ।
सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले शनिबार ललितपुरमा एक समारोह आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको उपलक्ष्यमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले जावलाखेल चिडियाखाना ६ हेक्टर जमिनमा फैलिएको र अहिले चिडियाखानामा क्षमताभन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको बताए ।
उनले भक्तपुरको सूर्यविनायकमा १५० हेक्टरमा बनिरहेको चिडियाखाना छिटो बनाइदिन आग्रहसमेत गरे। उनले बाघ, गैंडालगायतका जंगली जनावरको जनसंख्या बढिरहेको र मानव बस्ती पनि बढिरहेकाले जंगली जनावरहरुको संरक्षणस्थल अभाव हुँदै गएको उल्लेख गरे।
जीवजन्तु संरक्षणका लागि फराकिलो ठाउँको आवश्यकता रहेको बताए। उनले एउटा बाघका लागि मात्रै वर्षमा १५ लाख बराबरको रकम आवश्यक पर्ने भन्दै जंगली जनावरको संरक्षण र व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको बताए।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा जावलाखेलमा आयोजित वार्षिकोत्सव समारोहमा कोषका विभिन्न कार्यमा सहयोग पुर्याउने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सो क्रममा फेण्ड्स अफ जू (एफओजेड) मा २३ वर्षदेखि सहकार्य गर्दै आएको चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सम्मान गरेको छ ।
विद्यालयका तर्फबाट लक्ष्मीराज दाहालले सो सम्मान ग्रहण गरेका हुन् ।
सदर चिडियानाखाले विद्यालयका विद्यार्थीलाई चिडियाखानाका साथी (फ्रेन्डस् अफ जु)को सदस्यता प्रदान गर्दै आएको छ । त्यस्तो सदस्यता लिएका इच्छुक विद्यार्थीले चिडियाखानाका पशुपक्षीलाई खुवाइने आहारा आफैले काटेर तयार गर्न पाउने व्यवस्था छ । पशु आहारा कार्यक्रमअन्तर्गत विद्यार्थी भान्सामा जान पाउँछन् । कसरी आहारा तयार गरिन्छ ? कस्ता खानेकुरा खुवाइन्छ ? भन्ने थाहा पाउनुका साथै आहारा काट्ने र तयार गर्ने काममा पनि उनीहरू संलग्न हुन पाउँछन् । यसबाट विद्यार्थीमा पशुपक्षीप्रति सकारात्मक भावना जागृत हुने विश्वास गरिन्छ ।