ज्येष्ठ नागरिकप्रतिको व्यवहारमा परिवर्तन आवश्यक

थानकोट ।

“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने नारासहित आज बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सरकारले ज्ञानका भण्डार ज्येष्ठ नागरिकप्रतिको सम्मान र सचेतना बढाउने लक्ष्यले पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ । 

नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गरेको छ भने राज्यले ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता शीर्षकमा मासिक चार हजार रुपियाँ प्रदान गर्दै आएको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ पनि कार्यान्वयनको अवस्थामा छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत समाज कल्याण तथा सङ्घ, संस्था समन्वय महाशाखा प्रमुख उपसचिव विनोदकुमार दाहालले सरकारले ज्येष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने वातावरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिमार्फत देशभरका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिकसम्बन्धी उठेका सवाल, सचेतना उहाँहरूमा भएका ज्ञान/सिप हस्तान्तरणका गतिविधिमा ज्येष्ठ नागरिक संरक्षण शाखाले सहकार्य गर्दै आएको जानकारी दिनुभयो । 

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका निवर्तमान अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकका सुविधाका लागि राज्यले सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमालगायतको व्यवस्था गरे पनि विविध कारणले नागरिकताबाट वञ्चित ज्येष्ठ नागरिकले सो सुविधाको उपभोग गर्न नपाएको बताउनुभयो ।

पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले ज्येष्ठ नागरिकप्रति सम्मानपूर्वक व्यवहार सुनिश्चित गर्नुपर्र्ने राज्यको दायित्व हुने बताउनुभयो । उहाँले उमेर अनुसार रोग पनि बढ्दै जाने भएकाले हाल राज्यले उपलब्ध गराउँदै आएको मासिक चार हजार रुपियाँ भत्तालाई ६८ देखि ७९ वर्षकालाई मासिक पाँच हजार, ८० देखि ८९ वर्षकालाई १० हजार, ९० देखि ९९ वर्षका लागि २५ हजार र सोभन्दा माथिकालाई मासिक ५० हजार रुपियाँ दिन सुझाउनुभयो । 

उहाँले हाल मुलुकमा सञ्चालित वृद्धाश्रम तथा दिवा सेवा केन्द्रहरूलाई स्तरोन्नति गर्नुपर्ने, ज्येष्ठ नागरिकका लागि सातै वटा प्रदेश र सबै ७५३ पालिकाले प्रदान गर्ने सुविधामा पनि एकरूपता हुनुपर्नेमा जोड दिनुभयो ।  राष्ट्रिय जनगणना २०७८ अनुसार ६० वर्ष माथिकाको जनसङ्ख्या २९ लाख ७७ हजार ३१८ अर्थात् १०.२१ प्रतिशत पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *