आज यःमरि पुन्हि, चन्द्रागिरि नगरमा यःमरि बनाउने प्रतियोगिता हुँदै

Thankot Times

थानकोट ।

मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। सनातन समाजमा यो पर्व धान्य पूर्णिमाका रूपमा परिचित छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा ब्राह्मणक्षत्री समाजमा कुलदेवताको पूजा गरिन्छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। यो दिन कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ।

नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा  छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइन्छ।

योमरी पुन्हि

नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।

परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यःमरि पुन्हिका अवसरमा चन्द्रागिरि नगरमा यःमरि बनाउने प्रतियोगिता सञ्चालन हुने भएको छ ।

किपुल्चा नेवाः खलको आयोजनामा आज चन्द्रागिरि नगरपालिका-५ महादेवस्थान किसिपिडीमा वडा स्तरीय यःमरि प्रतियोगिता हुने बताइएको छ ।

स्थानीय लाछी टोलमा सञ्चालन हुने प्रतियोगिता दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र पाउने किपुल्चा नेवाः खलका बुद्धरत्न नकर्मीले जानकारी दिनुभयो ।

किपुल्चा नेवाः खलले विगत तीन वर्षदेखी यःमरि बनाउने प्रतियोगिता आयोजना गर्दै आएको छ ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो ।

यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *