काठमाडौं महानगरमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा रोक लगाइँदै
थानकोट ।
काठमाडौँ महानगरपालिकाले अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने भएको छ । महानगरको यातायात प्रणाली सुधार गर्ने भन्दै पूर्ण रोक लगाउन लागेको हो ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा आज आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना समेत अघि सारेको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको हो ।
दैनिक उपभोग्य बस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत महानगरको तयारी छ ।
सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सम्बद्ध कार्यालयहरूसँग सहकार्य अगाडि बढाइएको बताए । सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहीबाट सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।
अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।
यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सङ्केत चिन्हहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरू आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो । यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको महानगरले जनाएको छ ।