चन्द्रागिरि राष्ट्रपति रनिङ्ग शिल्डको पहिलो दिनः ब्राइट होराइजनलाई ३, जेसिसलाई १ स्वर्ण
थानकोट ।
चाैथो चन्द्रागिरि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन बुधबार समान ४ स्वर्ण, ४ रजत तथा ४ कास्य पदकको टुंगो लागेको छ ।
प्रतियोगितामा ब्राइट होराजन चिल्ड्रेन होम स्कुलले ३ स्वर्ण पदक जितेको छ । यसैगरी पहिलो दिन जेसिस इन्टरनेशनल स्कुलले पनि १ स्वर्ण जितेको छ ।
ब्राइट होराइजनले एथ्लेटिक्स अन्तर्गतको लङ्ग जम्पका छात्र तथा छात्रा दुवै विधामा स्वर्ण जितेको हो । ६ विद्यालयका १० जना खेलाडीले सहभागिता जनाएको छात्रा लङ्ग जम्पमा ब्राइट होराइजनकी शारदा तिवारी स्वर्ण जित्दा बलम्बु माविकी देविसा श्रेष्ठले रजत भइन् । श्रीकृष्ण माविकी जस्मिन विश्वकर्माले कास्य पदक हात पारिन ।
यसैगरी लङ्गजम्पको छात्र तर्फ १४ वटा विद्यालयका २१ खेलाडीले चुनाैती पेश गरेकोमा ब्राइट होराइजनका जोतिस बहादुर शाहीले स्वर्ण जित्दा विष्णुदेवी शिक्षा सदनका समिर चाैधरीले रजत पदक जिते । ब्राइट होराइजनका हस्त सुनारले कास्यमा चित्त बुझाए ।
यसैगरी सटपुटको छात्रातर्फ सहभागी भएका १२ विद्यालयका १७ खेलाडीहरू मध्ये जेसि इन्टरनेशल स्कुलकी स्मृति थापा पहिलो भइन । ब्राइट होराइजनका सिर्जन तामाङ र कविता लामाले क्रमश रजत र कास्य पदक जिते ।
सोही खेलको छात्रतर्फ सहभागी १२ विद्यलायका १७ खेलाडीहरूमा ब्राइट होराइजनका समन्त फडेराले स्वर्ण जिते । ब्राइट होराइजनकै सरोज थापामगरले रजत जितेको सो खेलमा चुनदेवी माविका मुकेश घर्तीले कास्य पदक जिते ।
प्रतियोगिता अन्तर्गत बिहीबार कबड्डी, भलिबल, एथलेटिक्स तथा तेक्वान्दो खेलमा प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
यसअघि चन्द्रागिरि नगका मेयर घनश्याम गिरीले नैकाप फुटबल मैदानका प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ३८ विद्यालयका करिब १ हजार ४ सय जना छात्र छात्राले सहभागिता जनाइरहेका छन् ।