विश्व अंग्रेजी स्क्राबल युवा कप-२०२३ मा ब्राइट फ्युचरका आकृष्ट थापाले चुनाैती पेश गर्ने
थानकोट ।
विश्व अंग्रेजी स्क्राबल खेलाडी संघको आयोजनामा थाइल्याण्डको ट्रांगमा हुन गइरहेको ३८औं विश्व अंग्रेजी स्क्राबल युवा कप-२०२३ मा चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर मा.वि.ले पनि सहभागिता जनाउने भएको छ ।
प्रतियोगितामा नेपालबाट पोखरा, चितवन, काठमाडौं र हेटौडाका ५ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् जहाँ संसारभरका करिब १६० जना विद्यार्थीले चुनाैती पेश गर्ने बताइएको छ ।
नेपालमा स्क्राबल क्लब पोखराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलहरु आयोजना तथा सहभागिताका लागि संयोजन गर्दै आइरहेको छ ।
प्रतियोगितामा सो क्लबका अध्यक्ष, कोषाध्यक्षसहित ७ जना अधिकारीहरुले पनि सहभागिता जनाउँदैछन् ।
प्रतियोगिता मंसिर १५ बाट १७ गतेसम्म सञ्चालन हुनेछ । टोली बुधबार सो तर्फ प्रस्थान गरेको छ ।
प्रतियोगितामा ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत आकृष्ट थापाले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
टोलीको नेतृत्व स्क्राबल क्लब पोखराका अध्यक्ष केशव प्रसाद पराजुली गरेका छन् । सो क्लब राष्ट्रिय खेलकुद परिषद् मा दर्ता भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा प्रतिनिधिहरूलाई ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापा लगायतले आज बुधबार एक कार्यक्रम आयोजना गरी बिदाइ गरेका थिए ।
सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाअध्यक्ष राजभाइ महर्जनले शुभकामना मन्तव्य राख्दै चन्द्रागिरि नगरबाट विभिन्न राष्ट्रिय अन्तर राष्ट्रिय कार्यक्रममा सहभागी गराउने ब्राइट फ्युचर माविले शिक्षा र खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याएकोमा विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्कीले आगामी वर्ष (सन् २०२४) को अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता यहि माघ ५ र ६ गते (तदअनुसार जनवरी १९ र २०) का दिन स्क्राबल क्लब पोखराको संयोजनमा ब्राइट फ्युचर माविमा आयोजना गरिने जानकारी गराएका थिए ।
अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन खेलाइने स्क्राबल खेल संसारभर लोकप्रिय छ ।