भिपिएन र डिएनएस प्रयोग बढ्दो, ‘विकल्प रोजौँ अवैध नचलाऔँ’
थानकोट ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालका अनेक विकल्प रहेकाले अवैध रूपमा एप र गेटवे प्रयोग गरेर टिकटक नचलाउन आग्रह गर्नुभएको छ ।
भर्चुअल प्राइभेट नेटवर्क र डोमेन नेम सिस्टम (डिएनएस) प्रयोग गरी टिकटकको प्रयोग गर्नु गैरकानुनी हुने बताउँदै उहाँले साइबर सुरक्षाको जोखिमलाई दृष्टिगत गरी वैकल्पिक सामाजिक सञ्जाल प्रयोग गर्न सुझाव दिनुभयो ।
मन्त्री शर्माले सरकारको निर्णय अनुसार कानुनी रूपमा प्रतिबन्ध गरिएका सामाजिक सञ्जाल चलाउन अवैध बाटो प्रयोग गर्दा हुन सक्ने सुरक्षा जोखिम र क्षतिप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सचेतनाका लागि तत्काल कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । “सूचना प्रविधिलाई सही ठाउँमा प्रयोग गर्नु पर्छ, शिक्षा, स्वास्थ्य, कृषिदेखि कैयौँ ठाउँमा प्रविधिको प्रयोग गर्दा उत्पादन वृद्धि हुन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सामाजिक विकृति पनि रोकिन्छ, त्यसैले सकारात्मक बनौँ । आफ्नो क्षमता, दक्षतासँगै प्रविधिलाई उत्पादनको क्षेत्रमा लगाऔँ ।”
उहाँले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सरकार प्रविधिको नवीनतम र अधिकतम प्रयोग गर्नेतर्फ केन्द्रित भएको र यस्ता कार्यलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको प्रयोग समाजमा विकृति र सद्भाव बिगार्ने काममा प्रयोग गर्नुहुँदैन । यस्ता कार्य भएमा नियमन र नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ ।”
प्राविधिक समितिले थाल्यो काम
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथिको प्रतिबन्धलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले काम थालेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरण निर्देशक विजयकुमार रायको नेतृत्वमा गठित चार सदस्यीय प्राविधिक समितिले काम थालेको हो ।
उहाँले शुक्रबार गठन भएको सो समितिले एक साताभित्र इन्टरनेट सेवा प्रदायकहरूले टिकटक प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयन गरे नगरेको विषयमा विस्तृत प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक समितिले काम सुरु गरिसकेको छ । अब विस्तृत अध्ययन प्रतिवेदन आएपछि आवश्यक निर्णयमा पुग्ने छौँ ।”
प्राधिकरणले सञ्चार मन्त्रालयका प्रतिनिधि, इन्टरनेट सेवा प्रदायकहरूको संस्था आएस्पानका अध्यक्ष सुधीर पराजुली तथा सदस्यसचिवको जिम्मेवारी रोजाकिरण बासुकलालाई दिँदै प्राविधिक समिति बनाएको छ । सरकारले कात्तिक २७ गते ‘टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने’ निर्णय गरेपछि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई टिकटक प्रतिबन्ध गर्न निर्देशन दिएको हो ।
साइबर सुरक्षामा जोखिम बढ्दो
प्राधिकरणका अध्यक्ष खनाल र साइबर सुरक्षाविज्ञ राजनराज पन्तले धेरैजसो कर्पोरेट क्षेत्रमा सुरक्षित रूपमा तयार पारिएको र डाटाको सुरक्षा दिने भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग भइरहेको बताउनुभयो । अध्यक्ष खनालले भन्नुभयो, “कर्पोरेट क्षेत्रमा प्रयोग हुने भिपिएनसँग नेपालमा अहिले टिकटक चलाउन मात्रै प्रयोग भइरहेका भिपिएनको तुलना गर्न मिल्दैन । असुरक्षित भिपिएनबाट सर्वसाधारणले टिकटक चलाउँदा साइबर असुरक्षा हुन्छ । त्यसतर्फ सचेत रहन र भिपिएन प्रयोग नगर्न हाम्रो आग्रह छ ।”
साइबर सुरक्षाविज्ञ पन्तले सबै भिपिएन सुरक्षित नहुने बताउँदै कर्पोरेटहरूले आफ्नै संयन्त्र बनाएकाले मात्रै सुरक्षित हुने जानकारी दिनुभयो । उहाँले खुला भिपिएन चलाउँदा जोखिम हुनेप्रति सचेत रहन प्रयोगकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भिपिएन चलाउन योग्य छ कि छैन, बुझ्नु पर्छ । सुरक्षा उपाय नअपनाइएको भिपिएनबाट डाटा चुहावट हुन सक्छ । प्रयोगकर्ता र सर्भरबिचको सम्पर्कका दौरानमा भिपिएन प्रयोग गर्दा बिचमै साइबर आक्रमण हुन सक्छ । गोपनीयताको रक्षा नहुने खतरा हुन्छ ।”
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा शनिबारसम्ममा झन्डै तीन लाख भिपिएन र डिएनएस प्रयोगकर्ता पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अनौपचारिक रूपमा विभिन्न स्रोतबाट आएको जानकारी अनुसार तीन लाखको हाराहारीमा भिपिएन र डिएनएस प्रयोग गरेको सूचना आएको छ । यकिन तथ्याङ्क हामीसँग छैन । प्रयोगकर्ताले निःशुल्क भिपिएन चलाएर काम गर्दा साइबर सुरक्षाको जोखिम हुन सक्छ ।”