उचित प्रचार प्रसार नहुँदा मातातीर्थ आयुर्वेद औषधालय ओझेलमा
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले आयुर्वेद दिवस एवं धन्वन्तरी जयन्तीका अवसरमा चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित आयुर्वेद औषधालय हातामा निर्माण भएको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रको भवन उद्घाटन गरेका छन् ।
शनिबार बिहान आयोजित एक समारोहका बीच मेयर गिरीले सो भवन उद्घाटन गरेका हुन् ।
करिब ८० लाख रूपैयाँ लागतमा निर्माण भएको सो भवनमा आयुर्वेदका विविध उपचार हुने बताइएको छ ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरमा आधुनिक र परम्परागत दुवै विधिबाट उपचार सेवा प्राप्त गर्नका लागि स्वास्थ्य संस्था प्राथमिकताका साथ व्यवस्थापन भइरहेको बताउँदै मातातीर्थ आयुर्वेद औषधालयमा केन्द्रीय आयुर्वेद औषधालयमा प्राप्त हुने सबै सेवा सुविधा प्राप्त हुने व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिए । सो क्रममा नगर प्रमुख गिरीले स्थानीय तहको व्यवस्था भएपछि निर्वाचित जनप्रतिनिधिहरूको अग्रसरतामा मातातीर्थ आयुर्वेद औषधालयले जीवन्तता पाएको स्मरण गर्दै मातातीर्थ आयुर्वेद औषधालयलाई अहिलेको अवस्थामा ल्याइपुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद् दिएका थिए ।
आयुर्वेद औषधालय हातामा निर्माण भएको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रको भवन उद्घाटन कार्यक्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीका अतिरिक्त उपमेयर बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगरका विभिन्न वडाका वडाध्यक्षहरू, नगरका प्रमुख कार्यकारी अधिकृत हेमराज अर्याल, नेपाल आयुर्वेदिक काउन्सिलका प्रमुख कार्यकारी अधिकृत दिपक भण्डारी लगायत चन्द्रागिरि नगरका कर्मचारीहरू तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले चन्द्रागिरिमा रहेको सुविधा सम्पन्न आयुर्वेद औषधालयको उचित प्रचारप्रसार नहुँदा नगरबासीहरू नीजि आयुर्वेद औषधालयमा उपचार गर्न गइरहेको अवस्थामा सो आयुर्वेद औषधालयको उचित प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
सो आयुर्वेद औषधालय हातामा खुला व्यायामशाला निर्माणका लागि विश्व स्वास्थ्य संगठनले सामाग्री उपलब्ध गराएको छ भने सो हातामा औषधीय गुण भएका र औषधालयका लागि आवश्यक पर्ने जडीबुटी खेतीको प्रयास भइरहेको बताइएको छ ।
मातातीर्थ आयुर्वेद औषधालय नरदेवी आयुर्वेद चिकित्सालयपछि सुविधासम्पन्न आयुर्वेद औषधालयका रूपमा विकसित छ । मातातीर्थ आयुर्वेद औषधालयलाई नरदेवी आयुर्वेद चिकित्सालयको स्याटेलाइट औषधालयका रूपमा विकास गर्न चन्द्रागिरि नगरपालिका र नरदेवी आयुर्वेद चिकित्सालयबीच द्वीपक्षीय सहमति समेत भइरकेको छ ।