रक्त सम्राट् कर्माचार्यलाई सम्मान

Thankot Times

थानकोट ।

नेपाल सरकारद्वारा रक्त सम्राट् पदवीबाट सम्मानित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।

नेपालमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्न बाँकेको राप्तीसोनारी गाउँपालिका पुग्नुभएका रक्त सम्राट् एवम् समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई समाजको बाँके शाखाले शुक्रवार सम्मान गरेको हो ।

काठमाडौँबाट रक्तदान कार्यक्रममा सहभागी हुन आउनुभएका रक्त सम्राट् एवं अध्यक्ष कर्माचार्यले राप्तीसोनारी गाउँपालिका –६ मा आयोजित वृहत् रक्तदान कार्यक्रममा १७६ औँ पटक रक्तदान गर्नुभएको हो । व्यक्तिगत खर्चमा नेपालगञ्ज आएर उहाँले रक्तदान गर्नुभयो । यसअघि पनि बर्दिया, मुगु, डोल्पालगायत जिल्लामा आयोजित रक्तदान कार्यक्रममा पुगेर रक्तदान गर्दै आउनुभएको छ ।

रक्तदान अभियानलाई व्यापक बनाउन अध्यक्ष कर्माचार्यले खेलेको भूमिका प्रेरणादायी रहेको भन्दै समाज बाँके शाखाले दोसल्ला एवं सम्मानपत्रले सम्मानित गरेको छ । सोक्रममा उहाँले रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यसै खेरजाने रगतलाई समयमा अरूको ज्यान जोगाउन खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य व्यक्तिले आफ्नो १८ औँ जन्मोत्सवको अवसरमा रक्तदान कार्यलाई सुरु गर्न पनि आह्वान गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द वाग्ले र प्रवास शाक्यलाई समेत खादाले स्वागत गरिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं समाज बाँके शाखाका सल्लाहकार पूर्णलाल चुकेले सम्मानित व्यक्तित्व प्रेमसागर कर्माचार्यको व्यक्तित्व र योगदान बारे चर्चा गर्नुभएको थियो ।

समाजको बाँके शाखा अध्यक्ष दिला शाहले नेपालमा स्वयंसेवी रूपमा रक्तदान अभियानलाई निरन्तर सञ्चालन गर्न प्रेरणा प्रदान गरिरहनुभएका रक्त सम्राट् कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँकै प्रेरणाले आफूलाई रक्तदान जस्तो महान् अभियानमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *