दशैं बिदामा पनि डायलाइसिस, आइसियू, इमर्जेन्सी र गम्भीर रोगका बिरामीले सहजै सेवा पाउने
थानकोट ।
दसैँको बिदामा ठूला सरकारी अस्पतालले अत्यावश्यकबाहेकका उपचार सेवा ठप्प पार्ने भएका छन् । ४ कात्तिकदेखि टीकाको भोलिपल्ट ८ कात्तिकसम्म (पाँच दिन) सबै सरकारी अस्पतालले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएका हुन् ।
दसैँका वेला बिरामीको चाप कम हुने र स्वास्थ्यकर्मी पनि बिदामा बस्ने भएकाले उपचार सेवा खुम्च्याइएको हो । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले शुक्रबारदेखि दसैँ बिदा हुने भएकाले अत्यावश्यकबाहेकका उपचार सेवा पनि बन्द गरिने जानकारी दिए ।
‘ओपिडी र नियमित सेवा टीकाको भोलिपल्टसम्म बन्द हुन्छन्, तर अत्यावश्यक उपचार सेवा बन्द गर्दैनौँ,’ उनले भने, ‘त्यसका लागि केही स्वास्थ्यकर्मी अस्पतालमा खट्नुहुन्छ ।’ उनले डायलाइसिस, आइसियू, इमर्जेन्सी र गम्भीर रोगका बिरामीले दसैँका वेलामा अन्य समयमा भन्दा प्रभावकारी सेवा पाउने बताए । दसैँका वेला बिरामीको चाप र भिड कम हुने भएकाले पनि दिइएका अत्यावश्यक सेवा प्रभावकारी हुने उनको भनाइ छ ।
दसैँका वेला अस्पतालमा बिरामीको चाप कम हुन्छ । अधिकांश स्वास्थ्यकर्मी दसैँ मनाउन बिदा बस्छन् । चाडबाडका वेला बिरामीको संख्या कम हुने कारण देखाउँदै अस्पतालहरूले हरेक वर्ष नियमित र ओपिडी सेवा बन्द गर्दै आइरहेका छन् ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, निजामती अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केएमसी अस्पताल, गंगालाल अस्पताललगायतमा पनि दसैँका वेला ओपिडी सेवा ठप्प हुनेछन् । भर्ना भइसकेका र इमर्जेन्सीमा आउने बिरामीलाई भने यी अस्पतालले आकस्मिक उपचार सेवा प्रवाह गर्नेछन् ।
यसबाहेक अप्रेसन गर्नुपर्ने र तत्काल उपचार गर्नुपर्ने बिरामीले भने निरन्तर उपचार सेवा पाइरहनेछ नयाँ पत्रिकामा खबर छ ।