यातायात कार्यालयमा बिचौलिया निषेध

थानकोट ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिनुभएको हो ।

ललितपुरमा बिहीबार आयोजित सवारीचालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रममा विद्युतीय सेवा प्रवाहलाई जोड दिँदै उहाँले बिचौलियालाई निषेध गर्नुपर्ने बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “कार्यालयमा बिचौलिया क्षेत्र निषेधित लेखेको बोर्ड मात्रै छ कि कार्यान्वयन पनि भएको ? बोर्ड अनुसार कार्यान्वयन गर्नुस् । जति छिटोछरितो र नम्र भएर काम गर्नुहुन्छ त्यति बिचौलिया निषेधित हुँदै जान्छन् ।”

उहाँले सबै यातायात कार्यलय विद्युतीय सेवा प्रवाह (अनलाइन) प्रणालीमा लगिने बताउनुभयो । अनलाइन प्रणालीलाई कार्यान्वयनमा लैजान जोड दिँदै मन्त्री ज्वालाले भन्नुभयो, “राजस्व बुझाउन यातायात कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्छ । सबै कार्यालयमा अनलाइन प्रणाली सुरु गर्न लागिरहेका छौँ । पोखरामा सुरु भइसकेको छ ।”

उहाँले बिनाझन्झट सहज रूपमा जनतालाई सेवा दिन सरकार लागिपरेको बताउनुभयो । मन्त्री ज्वालाले भन्नुभयो, “अनलाइन सेवा देशव्यापी बनाऊँ । हामीले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन । लाइन लाग्नुपर्दैन भन्ने कुरा सुनिश्चितता गर्नुपर्छ । यो कुरा छिटोभन्दा छिटो गर्नुपर्छ ।”

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवालाई सबै कार्यालयमा विस्तार गरिने बताउनुभयो । उहाँले यातायात क्षेत्रको सुधारका लागि केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैँका अवसरमा सडकका खाल्टाखुल्टी पुर्ने काममा सरकारले ढिलासुस्ती गरिरहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *