सतुगंलमा आज सडक महोत्सव, सतुगंलचोकदेखी विष्णुदेवी शिक्षासदनसम्म सवारी साधन निषेध
थानकोट ।
स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले आज चन्द्रागिरि नगरपालिकामा एक दिने सडक महोत्सव आयोजना हुँदैछ ।
चन्द्रागिरि नगरपालिका-११ सतुगंलको आयोजनामा सतुगंल क्षेत्रमा सडक महोत्सव हुन लागेको हो ।
सतुगंलचोकबाट स्थानीय विष्णुदेवी शिक्षासदन सम्मको सडकमा हुने सो महोत्सवमा स्थानीय उत्पादनका स्टल राखिने वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव क्षेत्रमा यातायात पूर्ण रूपमा निषेध गरी सो दिन स्थानीय संस्कृतिसँग सम्बन्धित बाजागाजा तथा नाचसमेत प्रदर्शनीको तयारी भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव अन्तर्गत साँझ ५ बजे प्रत्यक्ष गजल कार्यक्रमसमेत आयोजना हुने बताइएको छ ।
यसैबीच चन्द्रागिरि सडक महोत्सवमा आउने आगन्तुकहरूका लागि सवारी साधन पार्किङका लागि विभिन्न ३ स्थान तोकिएका छन् । वडा कार्यालयले सूचना जारी गर्दै सडक महोत्सव अवधिभर सतुंगलचोकबाट विष्णुदेवी शिक्षासदनसम्मको क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
आगन्तुकहरूले सतुगंल पार्टी प्यालेस, साल्ट ट्रेडिङ लिमिटेड र ह्वाइट दरबार पार्टी प्यालेसमा आ-आफ्नो सवारी साधन पार्किङ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।