राससका फोटो सम्पादन शाखा प्रमुख चन्द्रागिरि निवासी रामलाल श्रेष्ठको बिदाई
थानकोट।
छत्तीस वर्ष सेवा गरी उमेर हदका कारण सेवानिवृत्त राष्ट्रिय समाचार समिति (रासस) का फोटो सम्पादन शाखा प्रमुख रामलाल श्रेष्ठको आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रमबिच हार्दिकतापूर्ण बिदाइ गरिएको छ ।
राससमा ‘साइकल म्यान’ का रूपमा विसं २०४३ चैत १५ गते प्रवेश गर्नुभएका श्रेष्ठको प्रेसका प्राविधिक, कम्प्युटर अपरेटर, अडियो सम्पादक हुँदै फोटो सम्पादन शाखाको प्रमुख (अधिकृतस्तर)बाट यही असोज १५ गतेदेखि अवकाश प्राप्त हुनुभएको हो । श्रेष्ठलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले कदरपत्र र मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखा, रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस केन्द्रीय समिति, रासस कर्मचारी युनियनका अध्यक्ष क्रमशः पवित्रा गुरागाईँ, मनोज लामिछाने, प्रेमप्रसाद उपाध्याय र कालिका खड्काले संयुक्तरुपमा मायाको चिनो प्रदान गर्नुभयो ।
सो अवसरमा अध्यक्ष झाले राससका लागि आवश्यक काममा क्षमतावान् र कर्तव्यनिष्ठ श्रेष्ठ मिलनसारसमेत हुनुभएको उल्लेख गर्दै यस्ता कर्मचारी बिरलै पाइने बताउनुभयो । श्रेष्ठले साइकलबाट रासस बुलेटिन वितरणका कार्यदेखिको अनुभव हुँदै अभिलेख व्यवस्थापनसम्ममा सक्रिय रही निर्वाह गरेको भूमिकाको अध्यक्ष झाले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । अध्यक्ष झाले अवकाश भएको अनुभूति नलिई सक्रिय जीवन बिताउन श्रेष्ठलाई सुझाव दिनुभयो ।
महाप्रबन्धक राईले कार्यालयको काम नै पहिलो दायित्व भन्ने शपथ खाएर त्यसलाई सही अर्थका कार्यान्वयन गरी रातबिहान जतिबेला पनि राससको काममा तत्पर हुने श्रेष्ठको अनुभव र ज्ञानलाई राससकर्मीले ग्रहण गर्नुपर्ने बताउनुभयो । सीमित स्रोतसाधनबिच राससका कामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण श्रेष्ठ भएको उहाँको भनाइ थियो । राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले श्रेष्ठजस्ता कर्मठ व्यक्तिका कारण राससले आफ्ना सेवालाई निरन्तरता दिन सकेको बताउनुभयो भने प्रधानसम्पादक एकराज पाठकले श्रेष्ठलाई राससको ‘जगको ढुङ्गा’ को संज्ञा दिँदै कुनै गुनासो नगरी कामलाई महत्त्व दिने व्यक्तिका रूपमा आफूले पाएको सुनाउनुभयो ।
अवकाश प्राप्त श्रेष्ठले राससका लामो समय काम गर्दाका सुख, दुःख र रमाइला अनुभूति प्रस्तुत गर्नुभएको थियो । विसं २०२४ असोज १५ गते जन्मनुभएका श्रेष्ठ चन्द्रागिरि नगरपालिका–१२ निवासी हुनुहुन्छ । उहाँले घरेलु सीप र कम्प्युटर प्राविधिकमा डिप्लोमा गर्नुभएको छ ।