थानकोटमा निर्माण हुने प्रसूति अस्पतालको स्थलगत निरीक्षणमा जर्मन विकास बैंकका प्रतिनिधिहरू
थानकोट ।
जर्मन विकास बैंक (केएफडब्लु)को सहायतामा चन्द्रागिरि नगरपालिका- ०४ थानकोट गोदाम चाैरनजिक निर्माण हुन लागेको प्रसूति तथा स्त्री रोग अस्पतालको निर्माण कार्यले गति लिने भएको छ ।
अत्याधुनिक प्रविधियुक्त सो अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत जर्मन विकास बैंक (केएफडब्लु)ले एक अर्ब रूपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातहतमा सञ्चालन हुने सो अस्पतालको निर्माणस्थलमा शुक्रबार जर्मन विकास बैंकका प्रतिनिधिहरूले स्थलगत अवलोकन गरेका छन् । सो क्रममा नगरप्रमुखसँग उनीहरूले अस्पताल निर्माणका विषयमा भएका प्रगति विवरणसमेत जानकारी गराएका थिए । नगर प्रमुख घनश्याम गिरीको सचिवालयले सो अस्पताल निर्माणका लागि जर्मन सरकारले कन्सल्टेन्ट तथा प्राविधिक छनौट गरिसकेको जानकारी प्राप्त भएको जनाएको छ ।
शुक्रबार चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा बसेको नगरप्रमुख घनश्याम गिरी, प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गी लगायत जर्मन विकास बैंकका प्रतिनिधिहरू सम्मिलित बैठकले प्रसुति तथा स्त्री रोग विशेषज्ञ अस्पतालको निर्माण प्रकृयाको प्रगति विवरण र अब चन्द्रागिरि नगरपालिकाले गर्नुपर्ने कार्यहरुका बारेमा विश्लेषण तथा छलफल भएको बताइएको छ।
उक्त अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको प्रकृया किनारा लागिसकेको छ भने यसै साता नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग जर्मन विकास बैंकले अस्पताल निर्माण सम्बन्धी सम्झौता गर्ने बताइएको छ ।
अस्पताल निर्माणपश्चात काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दाका साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुग्ने अपेक्षा गरिएको छ ।