आज विश्व मुटु दिवस, मुटु रोगबाट बच्न यस्ता छन चिकित्सकका सुझाव
थानकोट ।
आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ।
नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ।
मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ ।
नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो ।
तर त्यो पनि व्यक्ति अनुसार फरक हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एक व्यक्तिले सयौँ चुरोट खाएर केही नहुन सक्ने तर त्यही व्यक्तिले पिएको धुवाँका कारण अन्य व्यक्तिको स्वास्थ्यमा ठुलो असर पर्न सक्छ । उहाँले अस्वस्थकर खानपान तथा चुरोट, बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने बताउनुभयो ।
अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभर वेट’ समस्यामा परेको अनुमान छ । सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आइबिएम) १८.५ देखि २४.५ बिचमा हुनु पर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभर वेट’ मानिन्छ । ‘ओभर वेट’ महिला, पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् ।
विश्वमा बर्सेनि एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्छन् । तीमध्ये विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा बढी छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसङ्ख्याको २५५ अर्थात् करिब ७५ लाख मुटुरोगी भएको अनुमान छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह रहेको छ ।
त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । बर्सेनि एक हजार बालबालिका बाथ मुटुरोगका कारण मर्ने गर्छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले व्यायामले कोलेस्ट्रोल सन्तुलनमा राख्नुका साथै रक्तचाप, सुगर र ‘स्ट्रेस’ लाई पनि नियन्त्रित गर्ने बताउनुभयो । सानै उमेरमा पनि मुटुरोगको जोखिम बढेको भन्दै उहाँले उच्च रक्तचाप तथा मुटुको परीक्षण नियमित गर्नुपर्ने बताउनुभयो ।
डा. रेग्मीले आफूलाई रक्तचाप, हाई कोलेस्ट्रोल, मधुमेह वा अन्य किसिमका समस्या भएकोजस्तो लाग्नासाथ चिकित्सकहाँ गई उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबिचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने लक्षण मुटुरोगका लक्षण हुन सक्ने बताउनुभयो ।
यसैबिच विश्व मुटु महासङ्घको आह्वानमा शुक्रबार विश्वभर विश्व मुटु दिवस मनाइँदै छ । मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ ।