ईन्द्र दह स्नान मेलाका अवसरमा चन्द्रागिरि- १ ईन्द्रस्थानमा प्रत्यक्ष दोहोरीदेखी लाखे नाचसम्म

Thankot Times

थानकोट ।

हरेक वर्ष भाद्र शुक्ल पूर्णिका दिन (इन्द्र जात्राको भोलिपल्ट) चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थानमा लाग्ने ईन्द्र दह स्नान मेलाको तयारी तिव्र पारिएको छ। 

यसपटक सो मेला असोज १२ गते बिहीबार लाग्दैछ । 

मेला व्यवस्थापनका लागि स्थानीय प्रशासनले विभिन्न उप समितिलाई जिम्मेवारी दिइ तयारी तिव्र पारिएको चन्द्रागिरि नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिश्याम रानामगरले जानकरी दिनुभयो । 

मेला व्यवस्थापनका लागि अगुवाइ गरेको ईन्द्र दह कोत गाउँ व्यवस्थापन समितिका अनुसार ईन्द्र दह स्नान मेलाका अवसरमा असोज ११ गते लाखे नाच, धिमे तथा बाँसुरी खलले मनोरञ्जनात्मक प्रस्तुती दिने कार्यक्रम तय भएको छ भने साँझ ढुंगेधारा उद्घाटन एवं ईन्द्र दह स्नान मेला क्षेत्रमा दीप प्रज्ज्वलनको कार्यक्रम हुनेछ । साँझ नै चर्चित कलाकारहरूको उपस्थितिमा प्रत्यक्ष लोक दोहोरी सुरु हुनेछ ।

मध्यरातमा हनुमानढोकाबाट परम्परा अनुसार चल्दै आएको इन्द्रध्वजसहितको नित्य पूजापछि बिहीबार बिहानैबाट स्नान मेला सुरू हुने बताइएको छ। 

मेला व्यवस्थापनका लागि स्काउट, प्रहरी प्रशासन तथा स्थानीय स्वयंसेवकहरू समेत खटिने बताइएको छ ।

चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास

मेला भर्न आउने श्रद्धालुहरूका लागि स्वीजरल्याण्ड पार्कमा सवारी साधन राख्ने व्यवस्था मिलाइएको ईन्द्र दह कोत गाउँ व्यवस्थापन समितिले जनाएको छ। 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ। चन्द्रागिरि नगरपालिका १ इन्द्रस्थानस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको सुक्ति अहिलेपनि सुन्न पाइन्छ । समुद्री सतहबाट करीब २४ सय मिटरको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ ।

साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको यस स्थान नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *