३५ वटा गाउँपालिकालाई काठमाडौं महानगरले एम्बुलेन्स दिने, एम्बुलेन्स मागका लागि निवेदन आह्वान
थानकोट ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ ।
महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार इच्छुक गाउँपालिकाले एम्बुलेन्स मागका लागि निवेदन दिन सक्नेछ ।
कार्यपालिकाको निर्णय समेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो ।सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ ।
महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।