चन्द्रागिरि बासीहरूले पढ्नैपर्ने इन्द्र दहको इतिहास
थानकोट ।
‘फुः च्वः’ फुल्चोकी, ‘जामाः च्वः’ नागार्जुन डाँडा र स्वयम्भु डाँडालाई ध्यानाः च्वः भने झैं ‘दह च्व’ दहचोक डाँडा हो । नेपाल भाषामा ‘च्व’ भनेको डाँडा वा उच्च स्थान हो । समुन्द्र सहतबाट १ हजार ८ सय ६४ मिटर अग्लो डाँडाको माथि दह भएकोले दह च्वःबाट अपभ्रंश भै दहचोक नाम रहन गएको हो । दहचोक डाँडामा देवराज इन्द्रले स्नान गरेको दह भएकोले धार्मिक हिसावले त्यस सानो कुण्डलाई इन्द्रदह भनिएको किंंवदन्ती छ । नेपाल भाषामा यसलाई ‘यँकिदह’ भनिन्छ । ‘येँ’ भनेको इन्द्र हो । यहाँको दह इन्द्रसँग सम्बन्धित भएकोले यसलाई इन्द्रदह भनिएको हो ।
इन्द्रजात्राकै समयमा मेला लाग्ने दहचोकको दहको नाम इन्द्रदह रह्यो’ (सत्यमोहन जोशी) । दहचोकमा रहेको दहको नाम इन्द्रदह रहनुमा एउटा रमाइलो किंंवदन्ती जोडिएको पाइन्छ । एकपटक इन्द्रकी आमा बसुन्धारालाई व्रत बस्नु थियो । त्यसका लागि उनलाई पारिजातको फूल चाहिएको थियो । नेपाल भाषामा पारिजातको फूललाई ‘पाल्जा स्वाः’ भनिन्छ । पारिजातको फूल अर्थात पाल्जा स्वाः स्वर्गमा थिएन । आमालाई फूल आवश्यक परेको कुरा इन्द्रले थाहा पाए । म पाताल पुगेर पारिजातको फूल ल्याउँछु भनि इन्द्र पाताल हिंडेछन् । पाताल अथवा पृथ्वीमा त्यो फूल उनले देखेका थिए । उनी कान्तिपुर आएर यसो खोज्दा एउटा किसानको बारीमा पारिजातको सेतो रातो युँ जडित फूल लटरम्म फुलेको देखे । पारिजातको फूल टिप्दै गर्दा आफुलाई केही नभनी आफनो बारीमा फूल टिप्दै गरेको मानिस (इन्द्र) देखेपछि चोर ठानी किसानले लिंगोमा बाँधेर राखेछन् । ति किसान तान्त्रिक रहेछन् ।
उता इन्द्रको आमा भने फूल लिन गएको छोरा धेरैबेरसम्म नफर्किएपछि इन्द्रको बाहन सेतो ऐरावत हात्ती (पुलुकिसी) लाई पाताल खोज्न पठाउँछिन् । हात्ती इन्द्र खोज्दै खोज्दै किलागल आइपुग्छ । त्यहाँका मानिसले सेतो हात्तीलाई पनि समातेर राख्छन् । इन्द्रको आमालाई पिर पर्यो, न हात्ती आउँछ न छोरो । आमा आफै ‘दागीं’ को भेषमा येँया पुन्हीका दिन पाताल आउँछिन् । छोरा खोज्दै खोज्दै हिँड्दा कान्तिपुरमा बाँधेर राखेको भेटृाउँछिन् । छोरा इन्दलाई छुटाउन उनले आफु स्वर्गको राजा इन्द्रको आमा हुँ भनि परिचय दिन बाध्य हुन्छिन् । त्यसपछि त्यहाँका मानिसले हामी पनि स्वर्ग जान पाउनु पर्छ, र हाम्रो खेतको धान पकाउन कुइरो ल्याइदिनु पर्छ भनेर सर्त राखेछन् । दागीं बनेर आएकी इन्द्रकी आमाले उनीहरुका शर्त मानिदिइन् । शर्त मानेपछि बाँधिएको छोरो इन्द्रलाई लिएर स्वर्ग जानलाग्दा हिँड्दै हिँड्दै दहचोकको डाँडामा रहेको दह पुगुन्जेलसम्म पनि मानिसहरू उनकै पछि पछि लाग्न छोडेनन् । अब इन्द्रकी आमा बसुन्धरालाई पर्यो फसाद । जिउँदा मानिसलाई स्वर्गलाने कुरा भएन । के गर्ने भनेर उनले स्वर्गजान त यो दहमा नुहाउनु पर्छ भनि त्यहाँ कुइरो उत्पन्न गराई कसैले कसैलाई नदेख्ने भएपछि उनीहरू ( इन्द्रकी आमा र इन्द्र) स्वर्ग अर्थात इन्द्रलोकतिर लागेछन् ।
हरेक वर्ष इन्द्रजात्राको पहिलो दिन काठमाडौँबासीहरू आफ्ना दिवंगत आफन्तका नाममा नगर परिक्रमा गदर्छन । यो परम्परालाई ‘ उपाकू वनेगु ’ भनिन्छ । यही मान्यता र परम्परालाई पछ्याउँदै अहिले पनि काठमाडौँका डंगोल परिवारले दागींको भूमिका निभाउने चलन अध्यापी छँदैछ । इन्द्रजात्राको समयमा कुमारीको रथ तान्नेदिन दागीं निस्कन्छ र काठमाडौँको तल्लो टोल( कोहने) मा रथयात्रा हुन्छ । यही रथयात्रा गरेको टोलमा दागीं ( इन्द्रको आमा) बनि हिँड्छन् । दागींका पछिपछि वर्षभरि मरेका परिवारका सन्तान पनि हिँड्छन् । दागींले मृत्यु भएका व्यक्तिहरुलाई स्वर्गलोक पुर्याउँछन् भन्ने विश्वास अहिले पनि छ ।
यस दिन सद्बिउ छर्दै, बत्ती बाल्दै राती दहचोकमा रहेको दहमा (इन्द्रदह ) पुगेर नुहाउने चलन यद्यापी छँदैछ । यही किंवदन्तीसँग जोडिएको हुँदा दहचोकमा रहेको त्यस दहलाई इन्द्रदह भनिएको हो भन्ने जनश्रुति रहेको छ ।
‘दहचोक पहिले बाडभन्ज्याङ सम्मै फैलिएको थियो, तत्कालिन समयमा बाडभन्ज्याङ वडा नं. ९ मा पर्दथ्यो । २०४२ सालदेखि मात्र बाडभन्ज्याङ छुटिृएर छुटृै गाउँ पँचायत बनेको हो । यो क्षेत्र पहिले सदाशिवको हो । सिद्धिनरसिंहको शासनकालमा पाटन नगरमा महामारी फैलियो । महामारी शान्त गर्न सदाशिवलाई कालिगण्डकी पारीबाट पाटनमा झिकाइयो । महामारी शान्त भएपछि यिनलाई यतै बस्न आग्रह गर्दा उनले थानकोटदेखि उत्तरतर्फको फाँट पारिको दहचोक डाँडाको खोकिलामा बस्न मनपराउँछन् । राजाले उनको त्यहाँ बस्ने इच्छा भए तीन डाँडा दिनु भनि ताम्रपत्र गरिदिएछन्’ (भुवनहरि सिग्देल ) । हुन पनि यो क्षेत्र २०१८ सालसम्म लपु अर्थात पाटन इलाकामै पर्दथ्यो । दहचोकमा चौकीटार भन्ने स्थान पनि रहेको छ । नेपाल एकिकरणका बेला पृथ्वीनारायण शाहले यहाँ रहेको समथर ठाउँमा त्यस समय चौकी राखेकाले ठाउँको नाम ‘चौकीटार’ रहन गएको जनश्रुति पाइन्छ ।
दहचोक डाँडामा रहेको इन्द्रदह भूकम्पपछि पुनर्निमाण भै अहिले सुन्दर देखिएको छ । पृथ्वीनारायण शाहले एकिकरण गर्ने सिलसिलामा दहचोक जिति युद्धकालागि यहीँ गढी बनाएका थिए । यहीँबाट कीर्तिपुर, आसपासका बस्ती, ललितपुर र भक्तपुरसँग लडेका थिए । वि.सं. १८१४ मा पहिलो पटक कीर्तिपुर आक्रमण हुँदा काजी कालु पाण्डेको मृत्यु भएको थियो । उनकै इच्छाअनुसार गोरखाराज्य देखिने ठाउँमा आफ्नो टाउको समाधि गरिदिनु भन्ने भनाइ अनुसार इन्द्रदहबाट पश्चिमतर्फ रहेको कोटस्थल नजिकै दहचोकको डाँडामा उनको टाउको समाधि गरिएको थियो । सोही ठाउँमा अहिले काजी कालु पाण्डेको सुन्दर समाधिस्थल तथा सालिक निर्माण भएको छ ।
२०७३ सालदेखि हरेक वर्षको फागुन ९ गते त्यहाँ इन्द्रदह महोत्सवका रुपमा कार्यक्रम हुँदै आइरहेको छ ।
नेपाल सरकारले दहचोक इन्द्रस्थानलाई घुम्नैपर्ने नेपालको १ सय गन्तव्यको सूचीमा समावेश गरेसँगै यो स्थानको प्रसिद्धी चुलँदै गएको छ ।
-गोपीचन्द्र कार्कीको प्रकाशोन्मुख पुस्तक ठाउँका नाम बारेबाट ।
तस्बिरहरूः प्रदिप महर्जन
एउटा छुटेको यथार्थ प्रश्न
-कहिले देखि दहचोक ईन्द्रदह छेत्रको प्रचार प्रशार वनेको ईतिहासछ राज्य र मेडियाले कहिले कुन मिति देखि थाहापाएछ ?कृपया खोज अनुसन्धान गरी लेखि दिन आग्रह गर्दछु /
****
वाट
****
संसोधित प्रस्तावित
School of Life Science
(Representation purpose for meditational Education-controlling care of non communicable disease)
रामासँग अध्ययन गरेर मात्र लेख्ने गराै सम्पादक ज्यू….ध्यानाः च्वः भनेकाे कीर्तिपुरकाे चम्पादेवी डाडाँ हाे स्वयम्भु डाँडा हाेइन……दह च्वःबाट अपभ्रंश भै दहचोक नाम रहन गएको हाेइन ऽऽऽ नेवारीमा दह च्व नै हाे र नेपालीमा दहचाेक नै हाे…..