थंक्वाठ/थानकोट गोदाम (चाैर) को नाम कसरी जुर्यो होला ? (दुर्लभ भिडिओसहित)

Thankot Times

थानकोट चन्द्रागिरि डाँडाको फेदीमा रहेको छ । चन्द्रागिरि नगरपालिका हुनु भन्दा अघि यो थानकोट गाउँ विकास समितिका नामले चिनिन्थ्यो । अग्लो स्थानमा रहेको बस्ती भएको हुनाले ‘किराँतकालमा यस गाउँलाई ‘थेञ्चोग्राम’ भनिएको भन्ने पाइन्छ ।

लिच्छविकालीन शिलालेखमा उल्लेख भएको ‘थेन्चो’ नामले प्रसिद्ध बस्ती यही थानकोट हुनु पर्दछ भनिएको छ ।
‘मध्यकालमा यसलाई ‘थंक्वाठ’ भनिन्थ्यो ’(इतिहासकार बज्राचार्य) । त्यसैले थँक्वाठ बाटै अपभ्रंश भै थानकोट रहेको जनश्रुति पाइन्छ । स्थानीयको बीचमा थानकोट शोणितपुरका नामले पनि चिनिएको छ । यो नाम रहनुमा स्थानीयहरुको भनाइ अनुसार यस्तो किंवदन्ती सुन्न पाइन्छ । पौराणिककालमा आर्यहरुको आगमन अगाडि यस ठाउँमा असुरहरुको बसोबास रहेको थियो । यिनीहरुको मालिक दैत्यराज बाणासुरले यहाँ सुनको सहर निर्माण गरेका थिए, त्यसैले यस ठाउँलाई ‘शोणितपुर’ भनिएको भनाइ छ ।
यो पहिला कोत किल्लाको रुपमा रहेकोले थानकोट गाउँको माथिल्लो भागमा कोतघर पनि रहेको छ । त्यसैले यसलाई ‘थंक्वाठ’ भनिएको हो । नेपाल भाषामा ‘थँ’ भनेको माथिल्लो र ‘क्वाठ’ भनेको कोत अथवा किल्ला हो ।
पहिला ग्वाला (गोपाल) जातिले बसोबास गरेको स्थान थानकोट पनि हो भनि वंशावलीमा लेखिएको पाइन्छ । यस भेगमा गोपाल जातिको अहिले पनि बसोबास छ ।
बलम्वुमा कार्तिक दशमीको दिन महालक्ष्मीको जात्रा सम्पन्न भएको सातौँ दिनपछि थानकोटबासीले महालक्ष्मीको धुमधामसँग जात्रा मनाउँदछन् । यस जात्रालाई स्थानीयहरु ‘थानकोटे जात्रा’ पनि भन्दछन् । यस क्रममा महालक्ष्मीदेवीलाई खटमा राखि सिंदुरजात्रा गरिन्छ ।
पहिले नेपाल खाल्डोबाट बाहिर जाँदा वा भित्र प्रवेश गर्दा यही थानकोटको बाटो भएरै आउजाउ हुने गर्दथ्यो ।
त्यसबेला थानकोट, चित्लाङ, भीमफेदी, हेटौँडा, वीरगन्ज हुँदै रक्सौल जान आउन यही थानकोटको बाटो प्रयोग गरिन्थ्यो ।

काँधमा मोटरकार बोकेर यहि मार्गबाट नेपाल खाल्डोमा ल्याइन्थ्यो ।

थानकोटको हालको गोदामचौर भन्ने ठाउँ पहिले राणाकालमा सामान गोदाम गरी राखिने गरेकाले यसलाई गोदामचौर भनिएको हो ।

सो क्षेत्रमा टेलिफोन घर तथा घोडा बाँध्ने तबेला निकै पछिसम्म पनि देख्न सकिन्थ्यो ।

– गोपीचन्द्र कार्कीको प्रकाशोन्मुख पुस्तक ठाउँका नाम बारेबाट ।
तस्बिरः प्रकाश गोपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *