सार्वजनिक विद्यालय स्थापना र सञ्चालन स्थानीय तहले गर्ने
थानकोट ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय तहले गर्ने प्रस्ताव गरेको छ ।
मन्त्रालयले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय तहले गर्ने भनिएको छ ।
विधेयकको दफा ३ को १ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन स्थानीय तहले गर्नेछ ।’
उपदफा २ मा स्थानीय तहले विद्यालयको स्थापना र सञ्चालन गर्दा राष्ट्रिय मापदण्डको अधिनमा रही विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने स्रोतको सुनिश्चितताको आधारमा गर्नु पर्ने उल्लेख छ ।
उक्त दफाको उपदफा ३ क यो ऐन प्रारम्भ हुँदाका बखत तत्काल प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका सामुदायिक विद्यालय यसै ऐन बमोजिम स्थापना र सञ्चालन भएको मानिने विधेयकमा भनिएको छ ।