कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन

Thankot Times

कलंकीबाट थानकोटतर्फ लाग्दा उकालो सकिने बित्तिकैको स्थानलाई ढुङ्गाअड्डा/ढुङ्गेअड्डा नामले चिनिन्छ । हाल चन्द्रागिरि नगरपालिका-१५ मा पर्ने यो क्षेत्र यसअघि तीनथाना गाविस अन्तर्गत पर्दथ्यो ।

यस क्षेत्रले मुलुककै पहिलो राजमार्ग त्रिभुवन राजपथसँग स्पर्श गरेको छ । खास ढुङ्गाअड्डा नाम भएपनि बोलिचालीमा ढुङ्गेअड्डा बढी चल्तीमा छ ।

चन्द्रागिरि नगरको अत्यधिक जनघनत्व भएका क्षेत्र मध्ये ढुङ्गेअड्डा पनि एक हो ।  

राणाकालमा राणाहरुको दरबार चोक शहरको विभिन्न भागमा र देवस्थलहरुमा ढुङ्गा विछ्याइन्थ्यो । यसका लागि मच्छेगाउँबाट तत्कालीन समयमा सिंहनाथ पल्टन र गोरखनाथ पल्टनका जवानहरुले ढुङ्गा बोकेर त्यस स्थानमा भण्डारन गरी विभिन्न स्थानमा लाने गर्दथे । 

तत्कालीन तीनथाना गाविसको बासिन्दाले पनि उक्त स्थानमा ढुङ्गाको भण्डार गरी बिक्री वितरण गरिने काम गर्ने भएकोले त्यसै समयदेखि उक्त स्थानलाई ढुङ्गा अड्डा नामले चिनिएको थियो ।

यस ठाउँका कतिपय नामहरु वर्तमान समयमा लोप हुन लागेका देखिन्छन् ।

पहिले नैकाप डुप्पा भनेर चिनिने तीनथाना गाविसलाई जातजाति र भौगोलिक हिसाबले पनि चिनिन्थ्यो जस्तो महतगाउँ, थापागाउँ, कार्कीगाउँ, गठेगाउँ यसरी यस ठाउँमा बस्ने जातिको थर अनुसार गाउँको नाम रहेको स्थानीय बासिन्दाको भनाई छ । 

अरु ठाउँमा जस्तै तुसाल, डुप्पा, काप्रोकोबोट, लाहुरे गौडा, खड्कुलेको पुल, गिन्रा उकालो, फरेसपाखा घट्टेपाखा, भैसी काट्ने चौर, भुसेडिल, साउनेपानी, गलफुगली, गहिरीगाउँ, चत्खुपाखाजस्ता नामहरु यस गाविस अन्तर्गत थिए तर अहिले ती नाम कमै मात्रमा प्रयोग गरेको पाइन्छ ।

यसरी लुप्त हुन लागेको ती ठाउँहरु पहिल्याएर त्यसको ऐतिहासिकता खोजी पहिचान गराउने पनि आवश्यक छ ।

उसो त चन्द्रागिरि नगरकै विभिन्न स्थानका पुराना नाउँहरू अहिले लोप हुँदैछन् ।

ती नाउँ अब पुराना नक्सामा मात्रै देख्न पाइने अवस्था सृजना हुँदै गएको छ । 


One thought on “कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन

  1. यसरी व्याख्या गर्दा नक्सा दिने नक्सामा ठाउँहरूको नक्साङ्कन गर्ने अनि ती ठाउॅको बारे प्रचलित जनवोलीमा कसरी त्यो नाम रहनाको आधार लिने गर्दा अझ राम्रो हुन्थ्यो कि तर यही भएपनि प्रयासको लागि धन्यवाद छ है राइटरलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *