चन्द्रागिरि नगरपालिका वडा नं. ११ पनि आफ्नै भवनमा, वडा नं. ५ र ७ को भवन निर्माण प्रकृयामा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ को नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गरिएको छ ।
नगरप्रमुख घनश्याम गिरीले सो भवनको उद्घाटन गर्नुभएको हो । यद्यपी वडा कार्यालयले जेठ ४ गतेबाट नै सोही कार्यालयबाट सेवा प्रदान सुरु गरिसकेको छ ।
आफ्नै भवनमा सर्यो चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालय
वडा कार्यालय उद्घाटनका क्रममा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत नगरका विभिन्न वडाका वडाध्यक्षहरू, अन्य जनप्रनिनिधिहरू, नगरका विभिन्न शाखाका कर्मचारीहरू लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।
योसँगै चन्द्रागिरिका १५ वटा मध्ये वडा नं. ५ र ७ का वडा कार्यालय मात्रै भाडाका भवनबाट सञ्चालनमा रहेका छन् । ती वडाका कार्यालय भवनपनि निर्माणको क्रममा रहेको उपमेयर बसन्ती श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ११ को नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाबाट उपलब्ध हुने प्रशासनिक सेवाहरू घरबाटै लिने मिल्ने खालका प्रविधि विकास गरि कार्यान्वयनमा ल्याउन तयारी भइरहेको जानकारी दिनुभयो । नगरप्रमुख गिरीले सो क्रममा नगरपालिकाले नगरका मुख्य मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती राखिने जानकारी दिनुहुँदै नगर प्रहरी कार्य क्षेत्रमा खटिएसँगै देखिएका विसंगतीहरू न्यूनीकरण हुने प्रतिबद्धता जनाउनुभयो ।
सो भवन निर्माणका लागि ९ आना १ पैसा जग्गा खरिद गरेको हो भने २ आना जग्गा स्थानीय त्रिरत्न महर्जनले दान गर्नुभएको बताइएको छ ।
२०७८ साल फागुन १९ गते शिलान्यास भएको सो भवन डेढ वर्षमा निर्माण सम्पन्न भएको हो । जसको लागत २,६९,००,००० रूपैयाँ रहेको बताइएको छ ।
चन्द्रागिरिमा निर्माण भएका वडा कार्यालयहरूमा यो क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो भवन रहेको बताइएको छ । सो भवनमा वडा कार्यालयका अतिरिक्त शहरी स्वास्थ्य केन्द्र समेत सञ्चालन हुनेछ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ का वडा भवन निर्माणका लागि जग्गा प्राप्तिको निर्णय मन्त्री परिषद् बाट प्राप्त हुन बाँकी रहेको बताइएको छ ।
सबै तस्बिरः सामाजिक सञ्जालबाट
चन्द्रागिरि नगरपालिका वडा नं. ११ को कार्यालय भदाै ९ गते उद्घाटन गरिने