काठमाडौं महानगरले कक्षा १० सम्म दिवा खाजा दिने निर्णय गर्दा, चन्द्रागिरिमा के छ तयारी ?

Thankot Times

थानकोट ।

हाल ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । 

यद्यपी सरकारले यस पटक विद्यार्थीको दिवा खाजा कटौती गरेको छ। सरकारले चालु आव ०८०/८१ मा सरकारी (सामुदायिक) विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको थियो ।

सरकारले दिवा खाजा कटौती गरे पनि काठमाडौं उपत्यकाका केही स्थानीय तहहरूले भने आफैँ रकम निकासा गरेर थप दिवा खाजा कार्यक्रम विस्तार गरेका छन्। काठमाडौं महानगरपालिकाले यस वर्षदेखि कक्षा-१० सम्मलाई दिवा खाजा दिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता वशन्तप्रसाद कोइरालाले यसअघि कक्षा-६ सम्म दिइँदै आएको खाजा यस वर्ष कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठाइसकेको जानकारी दिए।

महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेलका अनुसार यसअघि कक्षा ८ सम्म महानगरपालिकाले खाजा दिएको थियो। ‘यस वर्ष महानगरपालिकाले कक्षा १० सम्मलाई नै दिवा खाजा दिने भएको छ,’ उनले भने। 

काठमाडौं महानगरपालिकाले प्रति विद्यार्थी दैनिक ३० रूपैयाँका दरले रकम छुट्याएको महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी खरेलले जानकारी दिए। उनका अनुसार यसअघि संघीय सरकारबाट दिएको १५ रूपैयाँ र महानगरले १० रूपैयाँ थपेर प्रति विद्यार्थी दैनिक २५ रूपैयाँ दिइँदै आएको थियो।

ललितपुर महानगरपालिकाले बजेट घटेर आए पनि पहिलाजस्तै कक्षा-६ सम्म नै दिवा खाजा दिने गरी बजेट व्यवस्थापन गरेको छ। महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईका अनुसार यसका लागि महानगरपालिकाले २ करोड १० लाख बजेट छुट्याएको छ।

चन्द्रागिरि नगरपालिकामा भने सरकारले सीमा निर्धारण गरेर पठाएको बजेट अनुसारको दिवा खाजा कार्यक्रम सञ्चालन हुने बुझिएको छ ।

-श्याम राई


Leave a Reply

Your email address will not be published. Required fields are marked *