यु-१५ जिम्नासियाडः नेपालका खेलाडीलाई पहिलो दिनमै २ पदक, बास्केटबलमा लगातार हार
थानकोट ।
ब्राजिलमा दोश्रो इन्टरनेसनल स्कुल फेडरेसन (आईएसएफ) यु-१५ जिम्नासियाड सुरू भएको छ ।
प्रतियोगितामा नेपालका ४ वटा विद्यालयका २१ जना विद्यार्थीले विभिन्न ५ खेलमा सहभागिता जनाउँदै छन् ।
सो खेल उत्सवमा नेपालका स्कुले खेलाडीहरूले थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, पौडी, टेबलटेनिस टेनिस र तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित ब्राइट फ्यूचरमा माविका विद्यार्थी समेत प्रतिस्पर्धाका लागि ब्राजिल पुगेका छन्।
यसैबीच प्रतियोगिताका प्रतिस्पर्धाहरू हिजो २१ अगष्टबाट सुरु भएका छन् । पहिलो दिनको खेल सकिँदा नेपालले मिश्रित नतिजा प्राप्त गरेको छ ।
बक्सिङ
बक्सिङ खेलमा नेपालले पहिलो दिन २ वटा पदक प्राप्त गरेको छ ।
बक्सिङको ६० केजी मुनी उमेर समुहको सेमीफाइनलमा पराजित भएपनि नेपालका शेरप ग्याल्जेन शेर्पाले कास्य पदक प्राप्त गरेका छन् ।
उनी घरेलु खेलाडी एल्भिस दो न्यासिमेन्तोसँग ५-० अंकले पराजित भएका हुन् । छात्रा बक्सिङमा नेपालकी प्रकृति थापा सेमीफाइनलमा युक्रेनी खेलाडीसँग पराजित भइन् । युक्रेनी खेलाडीलाई रेफ्रीले सिधै विजयी घोषित गरेका थिए । थापाले पनि कास्य पदक पाएकी छिन् ।
बास्केटबल
३x३ बास्केटबलको पहिलो दिन नेपालले निराशाजनक प्रदर्शन गरेको छ । सो दिन नेपालले खेलेका २ वटै खेलमा एकपक्षीय हार सामना गर्न पर्यो ।
नेपाल पुल बी को पहिलो खेलमा चिलिसँग १५-० ले स्तब्ध बन्यो । नेपाली किशोरीहरूको सोही टिम दोश्रो खेलमा चीनसँग १५-० ले पराजित भयो । प्रतियोगितामा नेपालले आज फ्रान्स र घरेलु टोली ब्राजिल ए को सामना गर्नेछ ।