त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष

Thankot Times

थानकोट । 

त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ ।

२०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा.घनश्याम भट्टराई नियुक्त भएका छन् ।

इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

६ महिनापछि अवकाश हुन लागेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

सह-कुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।

एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन् ।

राजनीतिक भागबन्डाका कारण सिफारिस समितिले पटक पटक सिफारिस हुँदै आए पनि त्रिवि सेवा आयोगले अध्यक्ष पाउन सकेको थिएन ।

यसैबीच त्रिविका नवनियुक्त सेवा आयोग अध्यक्ष प्रा.डा.घनश्याम भट्टराईलाई नेपाल पब्लिक क्याम्पस संघले बधाई दिएको छ । 

क्याम्पस संघका अध्यक्ष एवं चन्द्रागिरि नगरपालिका १० सतगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले बुधबार सेवा आयोग अध्यक्ष प्रा.डा. भट्टराईलाई उहाँकै कार्यकक्षमा भेट गरी बधाई दिनुभएको हो। 

भेटका क्रममा अध्यक्ष गुप्ताले समयमा नै सेवा आयोग अध्यक्ष नियुक्त नसक्दा त्रिविमा सरुवा, बढुवा, पदोन्नति, पदस्थापना, नियुक्ति लगायतका कार्यबाट स्थगित भएको प्रति नेपाल पब्लिक क्याम्पस संघका तर्फबाट ध्यानाकर्षण गराउनुभएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *