तीनथानामा करिब ७ करोडको लागतमा निर्माण भएको विष्णुदेवी माविको भवन उद्घाटन

थानकोट ।

भारतको ७७औं स्वतन्त्रता दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

शैक्षिक क्षेत्र पुनःर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको सो विद्यालयको भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण पूर्व भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिका वडा नं. १५का वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुँईटेलले सो विद्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपाल सरकारको भूकम्प उत्थानशील पुनःनिर्माण मापदण्ड अनुरुप करिब ७ करोड रूपैयाँ लागतमा सो विद्यालय भवनको निर्माण गरिएको बताइएको छ । 

विद्यालयको पुरानो भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि नवनिर्मित भवनका संरचनामा दुइवटा ब्लक रहेका छन् जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि रहेका छन् ।

बालमैत्री, लैङ्गिकमैत्री र अपाङ्गतामैत्री भूकम्प प्रतिरोधी विद्यालयका ती संरचनाबाट ५ सय जनाभन्दा बढी विद्यार्थी लाभान्वित भइ प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग, भारतीय दुतावासका अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *