कक्षा १२ को नतिजा प्रकाशित, अंग्रेजी विषयमा विद्यार्थी कमजोर
थानकोट ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यो वर्ष गत वर्षको तुलनामा केही सुधार आएको बताए ।
नतिजा प्रकाशनका लागि बोर्डले दिउँसो बैठक बोलाएको थियो । नतिजा प्रकाशन गर्ने निर्णयपछि बोर्डले सार्वजनिक गरेको हो ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । जसमा ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए ।
लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा नन ग्रेडेड (एनजी) हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।
सोही आधारमा अब विद्यार्थीले जति विषयमा एनजी आएको छ त्यति विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिन पाउनेछन् । यसअघि दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
गत वर्ष उक्त निर्देशिका संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यतिको मात्र परीक्षा दिनपाउने व्यवस्था गरेको थियो ।
कक्षा १२ को नतिजामा सबैभन्दा कमजोर अंग्रेजी विषयमा देखिएको छ । आज सार्वजनिक गरेको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।
अंग्रेजीमा १ लाख ९ हजार ५२७ विद्यार्थीको नतिजा एनजी आएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । कक्षा १० को नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी कमजोर देखिएका थिए । तर, कक्षा १२ को नतिजाको हकमा भने अंग्रेजीमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।
धेरै विद्यार्थीहरू अंग्रेजी विषयमा कमजोर दिएको र अन्य विषयमा कम विद्यार्थीको एनजी आएको अध्यक्ष शर्माले बताए ।
त्यस्तै नेपाली विषयमा ३८ हजार विद्यार्थीको एनजी आएको छ । गणित विषयमा भने ७ हजार ९०३ विद्यार्थीले एनजी ल्याएका छन् ।