नेपाल विद्यार्थी संघ काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित
थानकोट ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौंको अध्यक्षमा मनोनित गरेका हुन् ।
काठमाडौं नेवि संघका अध्यक्ष मनिष डँगोललाई केन्द्रीय सदस्य मनोनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो। काठमाडौं कांग्रेस जिल्लाकार्य समितिले पहिलो नम्बरमा सिफारिस गरेरका केसीलाई रोकेर गत फागनुमा शेर्पाले डँगोललाई अध्यक्ष मनोनित गरेका थिए ।
आफूमाथि अन्याय भएको भन्दै केसीले नेविसंघको कार्यालयमा ताला लगाउनका साथै पार्टी कार्यालय सानेपामा रिले अनसनसम्म बसेका थिए । अन्ततः अध्यक्ष शेर्पाले महामन्त्री गगन थापा निकट डँगोललाई केन्द्रीय समितिमा समेटेर नेता प्रकाशमान सिंह पक्षका केसीलाई नेविसंघ काठमाडौंको जिम्मेवारी दिएका छन् ।
नेविसंघका १२ औं महाधिवेशन काठमाडौंमै हुने भएकाले नेविसंघ काठमाडौंको अध्यक्षलाई प्रतिष्ठाको विषय बनाइएको थियो । अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि र आयोजकको भूमिका काठमाडौंको हुन्छ । त्यसैले पार्टीकै नेताहरुले नेविसंको जिल्ला अध्यक्ष आफू निकट बनाउन अध्यक्ष शेर्पामाथि दबाब दिएको देखिन्छ ।
नेता सिंहको दबाब र पार्टी सभापति शेरबहादुर देउवाको सद्धभावपछि केसी काठमाडौं नेविसंघ अध्यक्ष हुन सफल भएका छन् । केसी प्रतिनिधि सभा निर्वाचनमा नेविसंघकातर्फबाट काठमाडौं १ निर्वाचन परिचालन समितिका संयोजक थिए ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पराजित गरेपछि सिंह केसीसँग प्रभावित थिए । नेपाल कमर्श क्याम्पस मिनभवनका नेविसंघ नेता केसी काठमाडौं जिल्लामा विद्यार्थी राजनीतिमा लोकप्रिय मानिन्छ ।
केसीले काठमाडौंमा नेविसंघलाई आफूले सशक्त बनाएर लैजाने बताए । ‘काठमाडौं जिल्लालाई नेविसंघको किल्लाको रूपमा विकास गरेर लैजाने छु,’ केसीले भने, ‘काठमाडौंमा नेविसंघको संगठनलाई थप सुदृढ र सशक्त बनाएर अघि बढाउनेछु ।’