बलम्बुमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन

Thankot Times

थानकोट ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेका छन् ।

स्वास्थ्य सेवा विभागको समन्वयमा नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको केन्द्रले नेपाल एपीएफ अस्पतालको फोहोेर संकलन गरी निर्मलीकरण गर्ने तथा पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर छुट्याई व्यवस्थापन गर्नेछ ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले नेपाल एपीएफ अस्पतालले कोभिड महामारीको समयमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा समेत स्वास्थ्य सेवाका क्षेत्रमा अझ उत्कृष्ट सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे ।

उनले नेपाल एपीएफ अस्पतालले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरी उत्कृष्ट कार्य प्रणालीको शुरूवात गरेको उल्लेख गर्दै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नभएमा संक्रामक रोगहरू फैलन सक्ने जोखिम बढी हुने हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायले संवेदनशील भई स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा नेपाल एपीएफ अस्पतालले वातावरणीय प्रदुषण कम गर्नेतर्फ सचेत र सजग भई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताए ।

उनले स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापनामा विशेष सहयोग पुर्‍याउने नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जर्मन विकास सहयोग लगायत विभिन्न संघसंस्थाहरूप्रति हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागका पदाधिकारीहरू, चन्द्रागिरि नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *