चन्द्रागिरि नगरबासीलाई निःशुल्क रगत, रक्तदान शिविर गर्दा प्रति रक्तदाता २ सय रूपैयाँ सहयोग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरबासीहरूले उपचारका लागि निःशुल्क रगत पाउने भएका छन् ।

बिहीबार चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसंचार सेवाबीच चन्द्रागिरि नगरबासीहरूका लागि आवश्यकता पर्दा निःशुल्क रगत उपलब्ध गर्ने सम्बन्धीमा सम्झौता पत्र हस्ताक्षर भएको छ । चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट महामन्त्री भूपतिलाल श्रेष्ठले सो सम्झाैता पत्रमा हस्ताक्षर गर्नुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

सो क्रममा चन्द्रागिरि नगरका विभिन्न शाखाका प्रमुखहरूका अतिरिक्त नेपाल रेडक्रस सोसाइटीका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाका सभापति, निर्देशक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उक्त सम्झौता पश्चात चन्द्रागिरि नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्नेहरुका लागि आवश्यकता पर्दा केन्द्रीय रक्तसंचार सेवा, भक्तपुर रक्तसंचार सेवा तथा ललितपुर रक्तसंचार सेवाबाट निःशुल्क रगत उपलब्ध हुनेछ।
त्यस्तै चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन हुँदा नेपाल रेडक्रस सोसाइटीको सिफारिसमा चन्द्रागिरि नगरपालिकाले प्रति रक्तदान गर्ने व्यक्ति बराबर २ सय रूपैयाँ नगद उपलब्ध गराउने विषयमा समेत सम्झाैता भएको छ ।
कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका ४ थानकोटमा रहेको नगर प्राथमिक अस्पताल भएको क्षेत्रमा २५ शैय्याको अस्पताल निर्माणको क्रम सुरू हुने जानकारी दिनुभयो । जहाँ डायलासीस सेवासमेत सुरू गर्ने लक्ष्य नगरले लिएको छ ।


One thought on “चन्द्रागिरि नगरबासीलाई निःशुल्क रगत, रक्तदान शिविर गर्दा प्रति रक्तदाता २ सय रूपैयाँ सहयोग

  1. दोस्रो पटकको संझाैता हो, पहिलो संझाैताको समीक्षा हुन आवश्यक छ । स्थानिय रेडक्रस उपशाखालाई सहभागिता गराउन नपर्ने ? जयरेडक्रस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *